काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिको उपस्थिति रहने का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा सभापति गगन थापाले अध्यक्षता गर्दैछन् । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो ।
मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् । बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि गगन पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो । शेरबहादुर देउवा समूहले पनि समानान्तर गतिविधि थालेको छ ।