काठमाडौँ, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र नष्ट गरिने भएको छ ।प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएपछि धुल्याइने भएको हो।
निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाताभन्दा सात प्रतिशत बढी मतपत्र जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ गरेको थियो ।आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ दुई करोड आठ लाख ४३ हजार गरी चार करोड ११ लाख ४३ हजार मतपत्र छपाइ गरी निर्वाचन क्षेत्रमा पठाएको थियो।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको र त्यसमध्ये एक करोड पाँच लाख नौ हजार ९४.५५ प्रतिशत मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामान्यतः मतदाताको सङ्ख्याभन्दा बढी सङ्ख्यामा मतपत्र छापिने अभ्यासबमोजिम यस पटक पनि चार करोड ११ लाख ४३ हजार मतपत्र छापिएकामा प्रयोग नभएका मतपत्र कानुनी प्रबन्धबमोजिम तत् क्षेत्रमा धुल्याउने प्रक्रियामा जाने बताए।
‘मतदाताभन्दा बढी मतपत्र छपाइ भएकामा कुनै दुरूपयोग त भएन ? वा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ कि ? भन्ने कतिपयले प्रश्न उठाएको सन्दर्भमा प्रवक्ता भट्टराईले भने, ‘शंका त गर्न पाइयो तर निर्वाचनको निष्पक्षतामा कुनै शङ्का छैन । हामीले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसेको र कुनै दल वा पक्षबाट औपचारिकरूपमा त्यस्तो प्रश्न नआएकाले मतपत्र खेर गयो भन्ने आधारमा कुनै शङ्का गर्नु उचित हुँदैन।’
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले पाठ्यपुस्तक छपाइलगायत नियमित कामका अतिरिक्त राष्ट्रको जिम्मेवारीलाई बोध गर्दै आयोगको कार्यादेशबमोजिम दैनिक १३ लाख मतपत्र छपाइ गरी सुरक्षितरूपमा समयमै हस्तान्तरण गरिएको जानकारी दिए।
उनले मतपत्र छपाइको कामले केन्द्रलाई घाटापूर्ति गर्न पनि सघाएको बताए।
सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ (पहिलो संशोधन, २०७०) अनुसार सरकारी कार्यालयमा रहेको कागजातमा लेखिएको व्यहारो पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने अवस्थामा नष्ट गर्न सकिने व्यवस्था छ।
आयोगले विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चार÷चार करोड मतपत्र छपाइ भएकामा करिब ६२ प्रतिशत मतदान भई बाँकी मतपत्र प्रयोगविहीन भएको थियो । रासस