spot_img

जेनजी आन्दोलनबारे छानबिन आयोग प्रतिवेदनमा शिर्ष नेताकाे बयान यस्ताे छःओली,देउवा,दाहाल देखि रवि बालेनसम्मकाे बयान यस्ताे छ,कार्यन्वयन भए यस्ता मुद्दा लाग्ने छन्

spot_img

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते सुनियोजित रुपमा उत्तेजना फैलाइएकाले युवाहरूको ज्यान जानेगरी हताहतीको घटना भएको बताएको खुलेको छ ।जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ ।

हेर्नुहोस् ओलीको बयानको सम्पादित अंशः

२०८२ साल चैत्रमा काठमाडौंको तीनकुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कमभन्दा कम धनजनको क्षति होस् र अवान्छित तत्वको घुसपैठ नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए । केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री रहने हुँदा सुरक्षा संवेदनशीलता र सो सँग सम्बन्धित सूचनाहरू गृहमन्त्रीसँग हुने हुँदा तत्कालीन गृहमन्त्रीलाई जवाफको लागि आयोगमा जान भनेको हो । धेरै विषय गृहमन्त्रीको जवाफबाट खुलेकै होला । वास्तवमा भाद्र २३ र २४ गते देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो ।

भाद्र २३ गते जियनजेड पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन । प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ ।तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन । सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जेनजीले होइन ।

आन्दोलनको फाइदा उठाएर घुसपैठ समूहबाट भएको हो। जियनजेड हरूले आफ्ना मागहरू हाइज्याक्ड भयो हाम्रो उद्देश्य यस्तो थिएन शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन । संसद् भवन जलाउने प्रयास २३ गते भएकै हो ।सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रुपमा युवाहरूमा उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुने सम्मको स्थिति सिर्जना गराएको हो ।

सरकारका तीनवटै निकायहरूमाथि आगजनी र आक्रमण सुनियोजित घटना हो । सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरुपणको थलो सर्वोच्च अदालतमा खोजी खोजी मिसिल हेरी हेरी छानेर डाटा खोजेर जलाइयो त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ उनीहरूको बयान आयोगद्वारा लिइएको छ ?

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले बैठक बसी निर्देशन दिन सकिने अवस्था रहेको तर सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो ।सेना परिचालन गर्ने मनसाय सरकारको नभएकोले त्यस्तो गरिएन । नेपाली सेनाको सुझाव पनि सोही बमोजिम थियो । २२ गते राति नै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएकोमा सुरक्षा निकायबाट ६–७ हजार जति जियनजेड आई शान्तिपूर्ण हुने भनेको हो ।

हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको हो । मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए वापतको अरुको निजी सम्पत्ति जुन २३ वर्ष अघि नै बेचेको हो सो पनि जलाइयो । तेह्रथुम जिल्लामा एकमात्र आगलागि भएको घर मेरो रहेको । यो सबै गर्नेहरूलाई सोधीखोजी र बयान लिने काम आयोगबाट भयो भएन ? उद्योग जलाउनु देशको अर्थतन्त्र जलाएको होइन ?

सामाजिक प्रबन्धमाथिको आक्रमण, आर्थिक प्रबन्धमाथिको आक्रमण र हाम्रो संस्कृति ध्वस्त गरी देशलाई तहसनहस बनाउने काम भयो । यसरी लगानी प्रवर्धन गर्न सकिन्छ र ?भाद्र २३ गतेको घटनामा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन । यो भन्ने पनि होइन । यस्ता प्राविधिक प्रश्नहरू सम्बन्धित व्यक्तिहरूले जवाफ दिनुभएकै होला ।भाद्र २३ गतेको घटनापछि बेलुका सरकारको बैठक बसी घटनाको निष्पक्ष छानविन सम्बन्धमा न्यायिक आयोग गठन गर्ने, घाइतेको प्रभावकारी उपचार साथै मृतक परिवारलाई राहत दिने र जियनजेड पुस्ताको माग बमोजिमको सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरिएको हो ।

भाद्र २४ गते मैले राजिनामा दिएको हु । म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजिनामापछि सबै ठीक हुनुपर्ने तर भएन त ?सामाजिम सञ्जालको नियमनको विषयमा सरकारले निर्णय गर्यो, सामाजिक संञ्जाल नियमन त हुनुपर्यो नि ! जवाफदेही हुनु पर्दैन? पर्छ नि !

हो त्यसै कारणले निर्णय गरेको हो । तत्कालीन जिम्मेवारीमा रहेका राज्यका पदाधिकारीहरूले घटना सम्बन्धमा आयोगमा बयान दिइसकेका, यस विषयमा सार्वजनिक रुपमा आफ्ना धारणा पटक पटक दिइसकेको छु ।
देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ‘जेनजी आन्दोलनमा मैले कुनै राजनीतिक हस्तक्षेप र पक्षपात गरेको थिइनँ’
जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनको क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बताएका छन्।

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्था साप्ताहिकको अनलाईन संस्करणले श्रृङ्खलाबद्ध रुपमा प्रतिवेदनका विषयवस्तु सार्वजनिक गरेको छ ।जनआस्थाको सौजन्यमा अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा देउवाले आफूले राजनीतिक हस्तक्षेप र पक्षपात पनि नगरेको जिकिर गरेका छन् ।

यस्तो छ देउवाले आयोगलाई दिएको बयानको सम्पादित अंश ः

२०८२ भाद्र २३ गतेको दिन म बूढानीलकण्ठ वडा नं २ बासुकी मार्ग स्थित मेरो निजी निवासमा थिए र सो दिन बेलुका बालुवाटारमा पनि उपस्थित भई मैले सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेर तत्कालीन प्रधानमन्त्रीले हटाउनु भएको थियो तर म कुनै औपचारिक बैठकमा सहभागी थिइनँ । भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरो निजी निवासमा भेला भई नाराबाजी गर्दा सुरक्षाकर्मीले रोक्दा रोक्दै हामी माथि हातपात भयो र केही जियनजेडका युवाहरूले बचाए। हामी राति २२ः०० बजेतिर सुरक्षित स्थान पुग्यौं ।

नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा मेरो निवासमा भेटिएको रकमबारे उल्लेख छ, ठूलो परिमाण थिएन । सामाजिक संजालको विवरण ब्क्ष् नभलभचबतभम हुनुपर्छ । सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कस्ले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का लगायतका विवरण लगेको हो र कारबाही सम्बन्धमा जानकारी छैन । मैले राजनीतिक हस्तक्षेप, पक्षपात गरेको छैन र २३–२४ गतेको घटनामा प्रहरीले आंकलन गर्न नसकेकोमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन ।

लोकतन्त्रमा ट्रेड युनियन अधिकार हो र व्यवहारिक हकहितको लागि प्रयोग गर्न पाउनुपर्छ । विद्यार्थी संगठन पनि बृहत्तर हितका लागि क्रियाशील हुनुपर्छ । मुलुकमा गैर–राजनीतिक संस्था वा संयन्त्रमा राजनीतिकीकरण गरिनु हुँदैन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । देशमा युवाको भावना समेटेर नीतिगत, कानूनी र संस्थागत सुधार गर्नुपर्छ ।

गंगा दाहालको घरमा भेटिएको भनिएको नगदबारे प्रचण्डको बयान, ‘सबै निराधार हुन्’
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नी सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भनी गरिएको प्रचार पूर्णतः निराधार र कपोलकल्पित भएको बताएका छन्। आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले आफू र आफ्नो परिवारले कुनै पनि अवैध आयस्रोतबाट आम्दानी नगरेको स्पष्ट पारेका हुन्।

उनले भनेका छन्, ‘भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। काठमाडौंमा मेरो आफ्नै घर छैन। मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो। न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौँ ।’

जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा प्रचण्डले भदौ २३ गते भएको दमनको भत्र्सना गर्दै आन्दोलनकारीलाई सहिद घोषणा गर्न आफूले सार्वजनिक अपील गरेको र २४ गते सिंहदरबारमा सर्वदलीय बैठकमा सहभागी भएको जानकारी दिए। उनको बुझाइमा यो आन्दोलन सरकारको कार्यशैलीप्रति जनतामा बढ्दै गएको असन्तुष्टि र आक्रोशको परिणाम हो।सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धले आन्दोलनलाई तत्काल उक्साएको भए पनि २४ गते आन्दोलनको स्वरूप बदलिएको र गलत तत्त्वहरूले यसलाई उपयोग गरेको उनको निष्कर्ष छ।

यानका क्रममा प्रचण्डले काठमाडौँमा आफ्नो निजी घर नभएको र आफू भाडाको निवासमा बस्दै आएको बताए। भदौ २४ गते काठमाडौँको भाडाको निवास र चितवनको घरमा तोडफोड तथा आगजनी भएको उल्लेख गर्दै उनले यसलाई व्यवस्थामाथि नै गरिएको नियोजित प्रहारको रूपमा चित्रण गरे। सिंहदरबार, शीतल निवास र संसद भवन जस्ता संवेदनशील ठाउँमा भएको आक्रमण केवल सरकारविरुद्धको आक्रोश मात्र नभई लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने प्रयास भएको उनको ठहर छ।

लेखकको बयान– जेनजी अगुवाकै अभिव्यक्तिबाट घुसपैठको तथ्य पुष्टि भएको देखें

जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क उनले पेश गरेका छन् । उनले घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत प्राप्त भएको बयान दिएको उल्लेख छ ।

‘…भाद्र २३ मा जियनजेड पुस्ताले उठाएका मागहरू मूलतः ठीक थिए भन्ने कुरा मैले सार्वजनिक रूपमा नै भनेको छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दुःखद घटना र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न मिल्दैन भन्ने मेरो ठम्याइ छ,’ लेखकले बयानका क्रममा भनेका छन् ।

“हाम्रो आन्दोलन सफल भएको छ, यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदैछ, साथीहरू आ–आफ्नो घर फर्किनुस्” भन्ने जियनजेड अगुवाहरूको अभिव्यक्तिले प्रदर्शनमा घुसपैठ भएको तथ्य पुष्टि भएको मैले देखें,’ उनले बयानमा थप व्यहोरा उल्लेख गरेका छन् । आफूले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पनि पारेका छन् ।

नख्खु कारागारका जेलरको बयान– त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो

ललितपुरको नख्खु कारागारका जेलर सत्यराम जोशीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट छाड्नका लागि एक अज्ञात पत्रमा आफूलाई हस्ताक्षर गर्न बाध्य बनाइएको बताएका छन् ।

‘म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौँ। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो,’ उनले बयानका क्रममा भनेका छन् । आफूलाई उक्त पत्रबारे पूर्व जानकारी नभएको र आतंकपूर्ण अवस्थामै हस्ताक्षर गर्न लगाइएको बताउँदै आयोगसमक्ष उनले उक्त पत्रको कुनै वैधानिक हैसियत नभएको पनि बताएका छन् ।

यस्तो छ जेलर जोशीले दिएको बयानको अंश ः

मिति २०८२ साल भदौ २३ र २४ गते म नियमित रूपमा आफ्नो कार्यालयमा उपस्थित थिएँ । भदौ २३ गते अवस्था सामान्य थियो । भदौ २४ गते बिहानैदेखि सामाजिक सञ्जालमा भड्काउने सामग्रीहरू देखिन थाले र कारागार वरिपरि अनधिकृत निगरानी बढ्न थालेपछि मैले प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखा तथा कारागार व्यवस्थापन विभागलाई जानकारी गराई आकस्मिक सुरक्षा बैठक बोलाएँ। उक्त बैठकमा भीड नियन्त्रण रणनीति, वैकल्पिक निकास योजना र समग्र सुरक्षात्मक तयारीका विषयमा छलफल गरियो ।

दिउँसो करिब १३ः४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले “रवि लामिछानेलाई छोड” भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरु गरे । भीडको अवस्था नियन्त्रणबाहिर जाँदै गएको देखेपछि मैले पुनः प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई सेना परिचालन गर्न लिखित तथा मौखिक अनुरोध गरेँ, तर तत्काल थप सुरक्षा बल उपलब्ध हुन सकेन । करिब १३ः५० बजे भीडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो ।

त्यस समयमा कारागारमा १२८१ जना कैदीबन्दीहरू थिए । भीडले रवि लामिछानेलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि अन्य कैदीहरूको सुरक्षालाई ध्यानमा राख्दै मैले उहाँलाई अस्थायी रूपमा कारागारभित्रकै मनोसामाजिक अपाङ्ग वन्दी अस्पतालमा सार्ने निर्णय गरें । पछि उहाँले “भीडलाई सम्झाउने प्रयास गर्छु” भन्दै माइक माग्नुभयो। त्यसपछि सुरक्षाकर्मीहरूले उहाँलाई भीड समक्ष पठाए, तर भीडले उहाँलाई कारागारबाट बाहिर लग्यो । उक्त घटनाबारे मैले तुरुन्तै गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएँ ।

उहाँलाई बाहिर लगिएपछि भीड झन् आक्रोशित भयो । कारागार प्रशासनको अभिलेख कोठा र प्रहरी भवनमा आगजनी गरियो र प्रहरी तथा सशस्त्र प्रहरी दुवै पछाडि हट्न बाध्य भए । म र प्रशासनिक कर्मचारीहरू मनोसामाजिक अपाङ्ग वन्दी अस्पताल भवनभित्र लुकेर ज्यान जोगाउने प्रयासमा थियौँ। सो क्रममा भीडले मलाई अत्यधिक डरधम्की दिई जीवन–मरणको त्रासमा पारी एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य बनायो । पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्व जानकारी थिएन । उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन ।
बालेनको बयान– ‘२३ गते सरकारले ‘आतंकवादी शैली’ अपनाउँदा २४ को घटना भयो’

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भदौ २३ गते सरकारले आतंकवादी शैलीमा अत्याधिक बल प्रयोग गरेको कारण २४ गतेको घटना भएको बताए।

बालेनको बयान यस्तो छ ः

२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिए । २३ गतेको शान्तिपूर्ण रैलीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । व्यवसायी र रेष्टुरेन्टहरुले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका संचार माध्यमबाट थाहा पाए । मेरो सामाजिक संजालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो । जनधनको रक्षाको लागी सामाजिक संजाल मार्फत संयमता अपनाउन अपिल गरेको थिए । घटनापश्चात महानगर प्रहरी बल लगायत अन्य विभागहरुसँग समन्वय गरी घाइते र मृतकहरुको परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो । सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ। काठमाँडौ महानगरको फोहोर बोक्ने गाडी बन्चरेडाँडा जाँदैगर्दा अनावश्यक रोकेपछी विरोधस्वरुप ःभतबउजयच को रुपमा फेसबुकमा अभिव्यक्ति दिएकोमा “जलाई दिन्छु” शब्द प्रयोग भएको थिएन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img