काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ बिहीबार पनि ‘हेर्दाहेर्दैमा’ रोकिएको छ।
सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा चैत १० गतेदेखि चलिरहेको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले चैत ५ गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो।