spot_img

राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको भावुक सन्देशःयुवा नेतृत्वको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाअनुसार काम गर्ने विश्वास छ,केही कमी कमजाेरी भए मेरै भागमा पार्नु

spot_img

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको माग सम्बोधन गर्ने गरी नयाँ सरकारले भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरेकी छिन् । देशले निर्वाचित सरकार पाउन लागेको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले त्यसका लागि आफू नेतृत्वको सरकारले केही आधारशिला तयार गरेको बताएकी छिन् ।

‘युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु । यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘६ महिने अवधि रहेको चुनावी सरकारले जेन–जी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन । तर, हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ ।’

अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीले बताइन् । ‘आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु– जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा स्पष्ट जनादेश आएको उल्लेख गरेकी छिन् । ‘यो निर्वाचनमा जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिनुभएको छ । यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत साबित गरिदिएको छ,’ उनले भनिन् ।

उनले मुलुकका सबै संस्था र सबै पक्षले आ–आफ्नो संवैधानिक मर्यादाको परिपालना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताएकी छिन् । ‘यसबाट मात्र सुशासनको जग मजबुत हुन्छ भन्ने हेक्का राख्न विनम्र अनुरोध गर्दछु,’ कार्कीले भनिन् ।

२४ मंसिरमा जेन–जी आन्दोलनकारीसँग भएको सम्झौता स्मरण गर्दै प्रधानमन्त्री कार्कीले केही काम अधुरा रहेको र आगामी सरकारले प्राथमिकता साथ अघि बढाउने विश्वास लिएको पनि बताएकी छिन् । आफू नेतृत्वको सरकारले जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेको उनको भनाइ छ । ‘परिणामस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि दबाएका प्रकरणमा मुद्दा अघि बढाएका छन्,’ उनले भनिन्, ‘ठेक्का लिएर काम नगर्ने, बिजुली बालेर बिल नतिर्नेजस्ता बेथितिविरुद्ध पनि सरकारले ऐतिहासिक रूपमा कठोर कदम चालेको छ ।’

जाँचबुझ आयोगको प्रतिवेदनमा सरकारले आवश्यक कदम चाल्ने विश्वास
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेकी छिन् । ‘आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाटलगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ,’ उनले भनेकी छिन्, ‘आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावका सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ ।’

जेन–जी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक गतिविधि सहज रूपमा सञ्चालन गर्न र उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री कार्कीले स्मरण गराएकी छिन् । त्यस्तै, जेन–जी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण प्राथमिकताका साथ अगाडि बढाइएको उनले बताएकी छिन् । ‘यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ । यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले ग¥यौँ भन्ने पनि दाबी छैन,’ उनले भनिन्, ‘तर, यहाँहरूसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ ।’

प्रधानमन्त्री कार्की शीतलनिवासबाटै टोखा जाने
नयाँ प्रधानमन्त्रीको शपथको तयारी भइरहँदा प्रधानमन्त्री सुशीला कार्की शुक्रबारै बिदा हुँदै छिन् । २४ फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छोडेकी कार्कीले शुक्रबारदेखि सरकारी निवास बालुवाटार पनि छोड्न लागेकी हुन् । पूर्वप्रधानन्यायाधीश कार्की जेन–जी आन्दोलनपछि २७ भदौ राति प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले नवनियुक्त प्रधानमन्त्रीको शपथमा सहभागी भएर प्रधानमन्त्री कार्की उतैबाट आफ्नो निवासतर्फ प्रस्थान गर्ने बताए । ‘अहिले बालुवाटारमै हुनुहुन्छ । बालुवाटारबाट शपथमा जानुहुन्छ । शपथ सकिएपछि उतैबाट घर जानुहुन्छ,’ उनले भने । रावलका अनुसार प्रधानमन्त्री कार्कीले प्रयोग गर्दै आएका सामानहरू सारिसकिएको छ । नयाँ प्रधानमन्त्रीको टिमले वास्तुअनुसार आवश्यक हेरफेर गरिरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img