पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे प्रहरी टाेलिले ओली पक्राउ गरेको हाे। पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो । मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो ।उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।
उता, एमाले अध्यक्ष ओलीको भने पक्राउ पुर्जी जारी भइसकेको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोपमा पक्राउ गरेको हो । उक्त दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैंयासम्म जरिवाना हुनसक्छ ।