spot_img

देउवा, ओली र दाहालको सम्पत्ति छानबिन सुरु

spot_img

काठमाडाैँ, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा तानिएका छन् । यो दायरामा पूर्वमन्त्रीद्वय देउवापत्नी आरजु राणा र दीपक खड्का पनि परेका छन् । नयाँ सरकारको ‘स्पिरिट’अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनीहरूमाथि छानबिन थालेको हो ।

पूर्वमन्त्री एवं कांग्रेस नेता खड्कालाई सिआइबीले आइतबार पक्राउ गरिसकेको छ भने ओली, प्रचण्ड र देउवादम्पतीको ठेगानामा प्रहरीमार्फत विभागले पत्र पठाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही बुझ्नुपर्ने भन्दै पाँचैजनालाई विभागमा उपस्थित हुन पत्र काटिएको स्रोतले बतायो । पूर्वप्रधानमन्त्री ओली जेन–जी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ परी प्रहरी हिरासत (उपचारका लागि अस्पताल)मै छन् । शनिबार पक्राउ परेका उनलाई अदालतले पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । देउवादम्पती देशबाहिर छन् भने प्रचण्ड स्वदेशमै छन् ।

जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा ठुलो मात्रामा पैसाका नोट जलेका फेला परेका थिए । त्यसका भिडियो र फोटोहरूसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ओली र प्रचण्डको निवासमा भने पैसा जलेको आरोप लगाइए पनि आधिकारिक कुनै प्रमाण भेटिएको छैन । त्यस्तै, खड्काको घरमा पनि आन्दोलनकारीले विदेशी नोट जलाएको र उडाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

विभागले अनुसन्धानका लागि असोज पहिलो साता ती नेताहरूको घरमा गएर जलेका भनिएका नोटबारे निरीक्षण गरी मुचुल्का उठाएर ल्याएको थियो । ती नोटको प्रहरीमार्फत फरेन्सिक परीक्षणसमेत गरिएको थियो । यसका अतिरिक्त अनुसन्धान टोलीले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो र भिडियोसमेत विश्लेषण गरेको थियो । विभागले अनुसन्धानको दायरामा परेका नेता र तिनका परिवारका नाममा रहेका सम्पत्ति तथा कारोबारको विवरण खोजेको थियो ।

गत असोजमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागलाई पत्राचार गर्दै उनीहरूको बैंक खाता, कम्पनी, धितोपत्र कारोबार र घरजग्गाको विवरण मागेको थियो । अलग्गै अनुसन्धान टोली गठन गरेर अनुसन्धान अघि बढाए पनि विभागले छानबिन नै टुंगोमा नपु¥याई छाडेको थियो । अहिले नयाँ सरकार आएसँगै छानबिनको प्रक्रिया अघि बढाइएको हो ।

सरकारले छानबिनको दायरामा ल्याएका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका नेता हुन् । पछिल्ला दशकमा सदाबहारजसो सत्ता र शक्तिमा रहेका पतिसँगको पारिवारिक सम्बन्धको दुरुपयोगबाट अनुचित लाभ लिएको आरोप देउवापत्नी आरजुमाथि लाग्दै आएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी अनुसन्धानको दायरामा तानिएकी थिइन् । यसबाहेक नियुक्ति, सरुवा–बढुवामा अनुचित लाभ लिएको भन्दै उनी विवादित छिन् । ठेक्कापट्टा र व्यापारमा जोडएका उनीहरूका छोरा जयवीर पनि अनुचित गतिविधिमा संलग्न भएको भन्दै विवादित छन् । त्यस्तै, चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओली र तीनपटक प्रधानमन्त्री बनेका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि आर्थिक पारदर्शितालाई लिएर प्रश्न उठ्ने गरेको छ ।

स्रोतका अनुसार शीर्ष नेताको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विभागले प्रारम्भिक तहमा मात्र हेर्नेछ । प्रारम्भिक छानबिनपछि सम्बन्धित कसुर हेर्ने निकायलाई थप छानबिन र अभियोजन गर्ने गरी प्रतिवेदन हस्तान्तरण गर्नेछ ।

छानबिनमा रहेको विषयमा प्रमाण नष्ट हुन सक्ने भन्दै देउवाको बुढानीलकण्ठ निवास भत्काउन रोक
सरकारले देउवादम्पतीमाथि नै सम्पत्ति शुद्धीकरणमा छानबिन अघि बढाइरहँदा उनीहरूको बुढानीलकण्ठस्थित निवास भत्काउन थालिएपछि सरकारले त्यसलाई रोकेको छ । जेन–जी आन्दोलनमा आगजनी भएको घर नयाँ संरचना निर्माण गर्न भन्दै भत्काउन थालिएपछि आइतबार काठमाडौं जिल्ला प्रशासन र प्रहरीको टोली पुगेर रोक लगाएको हो ।

जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा ठुलो परिणाममा जलेका नोटका फोटो र भिडियो बाहिरिएको थियो । त्यसपछि उक्त निवासमा कोही बसेको छैन । देउवादम्पती अहिले विदेशमा छन् । जिल्ला प्रशासन र प्रहरी टोलीले निवासको अवलोकन गरेर दसी, प्रमाण नष्ट हुन सक्ने भन्दै निवास भत्काउने र नयाँ बनाउने कार्य रोक्न निर्देशन दिएको छ ।

‘उहाँहरू (देउवादम्पती)उपर राज्यको निकायले हेरिरहेको छ । त्यससँग निवास पनि जोडिन्छ,’ अनुगमन टोलीका एक सदस्यले भने, ‘तर, कबाडीमा एउटा पार्टीलाई दिएर त्यसले निवास भत्काउन थालेको रहेछ । राज्यको निकायले भोलि आवश्यक पर्दा प्रमाण हेर्न खोज्ला, प्रमाणहरूको पुनर्पुष्टि गर्न खोज्ला । यस्तो स्थितिमा प्रमाण नष्ट नहोस् भनेर भत्काउने र नयाँ संरचना बनाउने कार्य रोक्न निर्देशन दिइएको छ । अहिले त्यो कार्य रोकिएको अवस्था छ ।’

खड्काको घरमा स्वदेशी र विदेशी पैसा फेला परेको भिडियो सार्वजनिक भएको थियो

मन्त्रालयमै घुसमा चेक कारोबार गरेको र शक्तिको आडमा सस्तोमा स्काउटको जग्गा लिजमा लिएर बक्यौता नतिरेकोसम्मका दसी प्रमाण पक्राउ गरिएका खड्कामाथि छानबिनका लागि सात दिनको म्याद थप

पूर्वउर्जामन्त्री एवं कांंग्रेस नेता दीपक खड्काको हकमा सम्पत्ति शुद्धीकरणमा जोडिने विभिन्न आधार सार्वजनिक हुँदै आएका छन् । जेन–जी आन्दोलनका क्रममा घरमा स्वदेशी र विदेशी पैसा फेला पर्नेदेखि मन्त्रालयमै घुसमा चेक कारोबार गरेको र स्काउटको जग्गा लिजमा लिएर बक्यौता नतिरेकोसम्मका दसी प्रमाण भेटिएका छन् । सिआइबीमार्फत विभागले आइतबार बिहान पक्राउ गरेको खड्कालाई छानबिनका लागि अदालतले सात दिनको म्याद थपिदिएको छ ।

जेन–जी आन्दोलन हुँदासम्म केपी ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री खड्काले नेपाल स्काउटको लैनचौरस्थित तीन रोपनी जग्गा कौडीको भाउमा भाडामा लिएर शक्तिको आडमा थप १२ रोपनी जग्गा कब्जा गरेका थिए । तर, त्यही तीन रोपनीको पनि भाडाबापतको साढे तीन करोड बक्यौता उनको कम्पनी खड्काल्यान्डले अझै तिरेको छैन । भाडा नतिरेकै कारण स्काउटले उनको पार्टी प्यालेस र रेस्टुराँ स्थानीय प्रशासनको सहयोगमा डेढ वर्ष सिल गरेकोमा अन्तिम मौकास्वरूप दिइएको समयसीमामा पनि बक्यौता नतिरेपछि गत २७ कात्तिकमा भत्काइदिएको थियो ।

०६५ देखि स्काउटको जग्गा दुरुपयोग गरेर उल्टै धम्की दिँदै आएका उनले स्काउटविरुद्ध नै आधा दर्जन मुद्दा अदालतमा दायर गरेका थिए । पछिल्लोपटक अदालतले बक्यौता तिर्नुपर्ने गरी फैसला गर्दासमेत उनले त्यसलाई लत्याउँदै आएका छन् ।

ऊर्जामन्त्री छँदा मन्त्रालयमै ठेकेदारसँग घुसमा चेक लेनदेन गरेको प्रकरणमा पनि उनी विवादित छन् । जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन उनले गत वर्ष मन्त्रालयमै ठेकेदारबिच चेक लेनादेना गराएका थिए । यस विषयमा अख्तियारले समेत प्रारम्भिक छानबिन थालेको थियो । तर, घटना भए पनि भरपर्दो प्रमाण नभेटिएको भन्दै अख्तियारले थप छानबिन रोकेको थियो ।

त्यस्तै, डेडिकेटेड ट्रंकलाइन प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने अर्बौँको बक्यौता नतिराउन उनी व्यापारीको पक्षमा खुलेआम लागेका थिए । ४६ कम्पनीले बिजुली प्रयोग गरेबापत तिर्नुपर्ने करिब आठ अर्बको बक्यौता पूरै छुट दिलाउन पदको दुरुपयोग गरेका थिए । संसद्को लेखा समिति, मन्त्रिपरिषद्, विभिन्न तहका अदालत, विद्युत् नियमन आयोगलगायतसमेतले उक्त विद्युत् महसुल तिराउन निर्णय, आदेश तथा फैसला गर्दासमेत खड्काले सबैलाई लत्याएर व्यापारीको पक्षमा लबिङ गरेका थिए । पछिल्लोपटक जेन–जी आन्दोलनमा उनको घरमा पैसा भेटिएको भन्दै आन्दोलनकारीले बाहिर निकालेर उडाएको फोटो तथा भिडियो सार्वजनिक भएका थिए ।

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पक्राउ ‘मनासिब’
५–५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, फौजदारी मुद्दामा बयान लिन र प्रमाण जुटाउन सहजआजदेखि नै ओली र लेखकको बयान हुन सक्ने
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अघि बढ्ने बताए । ‘जाँचबुझ प्रतिवेदन हाम्रोमा आइसकेको छ । प्रतिवेदनले सिफारिस गरेको मुलुकी फौजदारी अपराध संहिताकै दफा टेकेर अनुसन्धान हुन्छ,’ उनले भने ।

ओली र लेखकको रिहाइ माग्दै दायर रिटमा आज सुनुवाइ
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा आइतबार दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ हुँदै छ । सर्वाेच्च प्रशासनका अनुसार ओलीका हकमा उनकी पत्नी राधिका शाक्य र लेखकका हकमा उनकी श्रीमती यशोदा लेखकले रिट दर्ता गराएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img