काठमाडौं, गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि यो विवाद अहिले न्यायालयमा छ ।
अहिले संसद विघटनलाई समर्थन गर्ने र विरोध गर्नेहरु मात्र होइन, आम सर्वसाधारण पनि न्यायालयले कस्तो फैसला गर्छ भनेर सर्वोच्च अदालततिर नजर लगाइरहेका छन् ।संसद विघटनको दुई महिनाभन्दा बढी समय बित्दा सर्वोच्च अदालत अब फैसला सुनाउने दिनको प्रतीक्षामा छ । सम्भवतः अबको केही दिनमा सर्वोच्च अदालतले फैसला सुनाउने छ ।
शुक्रबार एमिकस क्युरीका तर्फबाट अन्तिम बहसकर्ता बरिष्ठ अधिवक्ता गीता पाठकले आफ्नो राय दिएपछि अदालतले संसद विघटन सदर वा बदरको टुंगो लगाउन बाँकी छ ।अब फैसलाको प्रतीक्षा
संसद विघटन भएको शुक्रबारसम्म दुई महिना र केही दिन बितेको छ । शुक्रबार एमिकस क्युरीले राय दिएपछि फैसलाको प्रतीक्षामात्र बाँकी छ । बहस सकिएपछि प्रधानन्यायाधीश जबराले फागुन १० गतेभित्र बहस नोट दिन मुद्दाका पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।फैसला कहिले आउँछ भन्ने सम्बन्धमा प्रधानन्यायाधीश जबराले भनेका छन् ‘१० गतेभित्र बहस नोट आउँछ । त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ र १२ गते जति पनि जान सक्छ ।’
१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ । फागुन ११ गतेपछिका कुनै दिनमा फैसला आउन सक्ने जबराको भनाइ छ । जानकार कानुन व्यवसायीका अनुसार मुद्दा हेर्दाहेर्दैमा राखेकाले फागुन ११ को २ र ३ दिनभित्र फैसला आउन सक्छ ।