spot_img

संसद बैठक आजदेखिः५ पार्टीका संसदीय दल नेता टुंगो,कांग्रेसमा किचलाे कायमै

spot_img

काठमाडौँ — संसद्मा भएका रास्वपा, एमाले, नेकपा र राप्रपाले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयनमा ढिलाइ भएको छ । श्रम संस्कृतिबाट पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) दल नेता हुने निश्चित भए पनि निर्णय हुन बाँकी छ । बिहीबारदेखि संसद् सुरु हुँदै छ ।

संसद्मा दल नेता र सचेतकको महत्त्वपूर्ण भूमिका हुने भएकाले वरिष्ठ नेता र सांसदहरूको दाबी रहने गरेको छ । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह दलको नेता चयन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । रास्वपा दल उपनेता, मुख्य सचेतक र सचेतक चयनको गृहकार्यमा लागेको छ । सुरुमा सभामुख र उपसभामुख टुंग्याएपछि अरू विषयमा अघि बढ्ने रास्वपाले जनाएको छ । रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दललाई दिनुपर्नेछ ।

‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ,’ संविधानमा उल्लेख छ । रास्वपाले उपसभामुखका लागि संसद्मा रहेका कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति वा राप्रपाका उम्मेदवारलाई समर्थन गर्नुपर्नेछ । रास्वपाको उपनेतामा समीक्षा बाँस्कोटा, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक निशा डाँगीको चर्चा भए पनि टुंगो लागेको छैन । ‘सभामुख र उपसभामुखको टुंगो लागेपछि संसद्का अरू पद चयन प्रक्रिया अघि बढ्छ,’ रास्वपाका एक पदाधिकारीले भने ।

कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा पार्टीको संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलीय हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्नेसमेत सांसदहरूबीच अन्योल खडा भएको छ । निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवाको समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको समानान्तर गतिविधि चलाउँदै आएका छन् । नेता शेखर कोइराला र उनीपक्षीय नेताहरू पनि अहिले त्यही समूहमा छन् ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ । महामन्त्री गुरुराज घिमिरे भने पार्टीको सांगठनिक कामका अन्य व्यस्तताका कारण दल नेता चयनमा केही ढिलाइ हुन गएको बताउँछन् । दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनकै लागि आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको उनले बताए ।

‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयनको प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने । संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता चयन सर्वसम्मतिबाट होस् भन्ने चाहना राखेको छ । तर, देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउन सकिने संकेत दिइरहेको छ । यसो गर्दा देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्दम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङ्दम्बे मध्यमार्गी भूमिका देखिन चाहेका छन् । यही भूमिकाले उनको नाममा सर्वसम्मति हुन सक्ने अर्का एक पदाधिकारीले बताए ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ । कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य छन्, केसी । ज्येष्ठ सदस्य भएकाले सभामुखको निर्वाचनसम्म उनैले संसद्को अध्यक्षता गर्नेछन् । केसीले दलको नेताका लागि केही समयअघि नै चाहना राखेका थिए ।

उनले संसद्को अध्यक्षता गर्ने भूमिकामा रहेकाले पार्टीभित्रको कुरा नगर्ने बताए । ‘मैले संसद्को जिम्मेवारी सकेर फर्केपछि त्यतिबेलै दलको नेतामा के गर्ने भन्नेबारेमा कुरा गर्छु, अहिले फरक जिम्मेवारीमा भएका बेला भन्न मिलेन,’ उनले भने । संसद्मा युवाको बाहुल्य भएकाले पुराना नेताहरूलाई नभएर युवा सांसद निश्कल राईलाई दलको नेता बनाउन पनि कांग्रेसमा लबिइङ भइरहेको छ ।

एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई निर्विरोध दलको नेता चयन गरेको छ । संसदीय दलको बैठकले थापालाई दलको नेता चयन गरेको हो । तर यसले एमालेमा विवाद सिर्जना भएको छ । सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । ‘पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भए पनि दलको नेता दाबी गर्ने आँट गरेको छु,’ उनले भनेका थिए । कान्तिपुरमा खवर छ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img