एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २४ गतेको विध्वंस किन र के उद्देश्यका लागि भएको थियो भन्दै सरकारसँग जवाफ माग गरे । बादलले कुन उद्देश्यका लागि सिंहदरबार, राष्ट्रपति निवास, संसद भवन जलाइएको हो सो को कारण खोज्नुपर्ने बताए ।
‘सिंहदरबार किन जलाइयो ? संसद् भवन किन जलाइयो ?’ बादलले प्रश्न गर्दै भने, ‘आज कुन उद्देश्यको पूर्ति गर्न देशव्यापी रूपमा दमनचक्र र राज्य आतंक मच्चाइँदैछ ?’ उनले रास्वपाले जादुमय विजय हासिल गर्न बाह्य शक्तिले काम गरेको आरोप समेत लगाउन भ्याए । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयमा सेनासहित विभिन्न दृश्य–अदृश्य शक्तिको निर्णायक भूमिका रहेको उनको आरोप थियो ।
बादलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको चुनावमा रास्वपाले जादुमयी जित निकाल्नुमा सेना, ब्युरोक्रेसी, सुशीला कार्की नेतृत्वको सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाए ।
‘यो जादुमय विजयमा क–कसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्, अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराका रूपमा स्थापित गरे,’ बादलले भने, ‘देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’
बादलले अदृश्य शक्तिहरू, टीओबी, अल्गोरिदम, मिडिया ट्रायलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले चामत्कारिक विजय प्राप्त गरेको बताए ।
यस्तै कांग्रेस सांसद आङ्देम्बेले सरकारलाई गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । ‘नयाँ प्रधानमन्त्रीज्यूलाई म ध्यानाकर्षण गराउन चाहन्छु— जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारले सुझबुझपूर्ण ढङ्गले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् ।’
संसद् भवन, सिंहदरबारलगायतका भैतिक संरचना जलाइएको बारे पनि उनले सरकारको ध्यानाकर्षण गराए । ‘किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ कांग्रेस सांसद आङदेम्बेले भने ।
घटनाका दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने मान्यतामा कांग्रेस प्रष्ट रहेको आङ्देम्बेले बताए । ‘कांग्रेस ’दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न’ भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको छ । यो मान्यतामा हामी आज पनि प्रस्ट र दृढ छौँ,’ आङ्देम्बेले भने ।