पश्चिम एसिया (मध्यपूर्व)मा एक महिनादेखि जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको हो । यसले पेट्रोलियम पदार्थको खपत कम गर्ने र असहजता नबढ्ने सरकारको अपेक्षा छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिको असहजताका कारण दुईदिने बिदाको निर्णय लिइएको हो । तर, कार्यसम्पादन समय नघट्ने गरी सरकारले सोमबारदेखि शुक्रबारसम्म भने सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै खुल्ने निर्णय लिएको छ । यो नियम सोमबारदेखि नै लागू हुने गरी आइतबार नै राजपत्रमा सूचना प्रकाशन गरिएको छ ।
मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन आपूर्ति प्रभावित बनेको छ । भविष्यमा आपूर्ति घट्न सक्ने भएकाले सरकारले खपत घटाउने अपेक्षा रहेकाे छ।