गृहमन्त्री सुधन गुरुङले पोखरामा साहसिक पर्यटन गतिविधि सञ्चालनका लागि भन्दै फेवातालको १० रोपनी जग्गा स्थानीयबाट १५ वर्षका लागि भाडामा लिएको पाइएको छ । महानगरपालिकाले फेवाताल आसपासको अवैध संरचना हटाउने क्रममा गुरुङले उक्त जग्गा लिएको र ७ वर्षदेखि भाडा नतिरेको खुलेको हो । फेवाताल पारिपट्टि सिम्ले लामडाँडामा रहेको जग्गा सुधनले वार्षिक २ लाख रुपैयाँ भाडा बुझाउने गरी २०७४ मा लिएका थिए तर एक वर्षको भाडा मात्र उनले बुझाएको जग्गाधनीले बताएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सञ्चारकर्मीलाई ‘गृहमन्त्रीकै जग्गा पनि फेवातालभित्रै परेको र त्यहाँ रहेको संरचना भत्काउन निर्देशन दिएको’ बताएपछि गृहमन्त्री सुधनले जग्गा खरिद गरेको नभई भाडामा लिएको खुलेको हो । कुराकानीमा जग्गाधनी ओमबहादुरले ‘गृहमन्त्री सम्पर्कमा आउनुस्, भाडा तिर्नुस्’ भनेको छु भने ।
भाडामा लिएको यो जग्गा अहिले प्याराग्लाइडिङ अवतरण हुने स्थानको सिधा पारिपट्टि पोखरा महानगरपालिका–२२ मा पर्छ । सुधनले जग्गा भाडामा लिएकै वर्ष भवनलगायतका संरचना बनाउन सुरु गरेका थिए । जग्गाधनी ओमबहादुरका अनुसार सुधनले मानिसलाई गुलेलीले जसरी तानेर पानीमा फाल्ने खेल सञ्चालन गर्ने, स्विमिङ पुललगायतका संरचना निर्माण गर्ने योजना बनाएका थिए । उनले त्यतिबेला टिनले छाएको भवन, स्विमिङ पुलका सामग्री, भवनभित्रको साजसज्जालगायतमा एक–डेढ करोड खर्च गरेको ओमबहादुरको अनुमान छ ।
भाडामा लिने बेला जग्गासँगै फेवाताल जोडिएको थियो । ओमबहादुरका अनुसार हर्पन खोलाको बाढीले फेवाताल पुरिँदै जाँदा पानी भएको भाग खेतमा परिणत भयो । सोचेजसरी संरचना बनाउन नसकिरहेकै बेला सँधियारसँग सुधनको झगडा प¥यो । ‘पहिला एकदम मिल्थे, पछि के–के भयो, झगडा प्रहरीकामा पनि पुगेछ,’ ओमबहादुरले भने, ‘पछि महानगर आएर यहाँ केही नबनाउनू भनेपछि त्यत्तिकै अलपत्र प¥यो ।’
गृहमन्त्री सुधनले सम्झौता गर्ने बेला नै एक वर्षको भाडा बुझाएका थिए । ‘५–५ वर्षमा भाडा बढाउने सम्झौता थियो । एक वर्षको भाडा दिए, त्यहाँबाट लथालिंगै भयो,’ ओमबहादुरले भने, ‘आफूले पनि लगानी उठाएनन्, हामीले पनि केही खेतीपाती गर्न पाएनौं ।’ भाडासम्बन्धी सम्झौताको कागज दुवै पक्षसँग रहेको उनले जानकारी दिए । उनका अनुसार जग्गा छोडेर गएपछि सुधन फर्किएका छैनन् । ‘सम्पर्कमै छैनन् । फोन नम्बर पनि छैन,’ उनले भने, ‘काम नगर्ने भए सम्झौता फुकुवा हुनुप¥यो । हामी पनि जेलिएजस्तो भयो । भाडा पनि पाएका छैनौं ।’
गृहमन्त्री सुधनलाई सम्पर्कमा आउन ओमबहादुरले आग्रह गरेका छन् । ‘तपाईं गृहमन्त्री हुनुभयो, सम्पर्कमा आउनुस् । बसेर सल्लाह गरौंला,’ गृहमन्त्रीलाई उनको सन्देश छ, ‘तपाईंले चलाउने भए चलाउनुस्, नचलाउने भए अहिलेसम्मको भाडा दिनुप¥यो । सम्झौताको कागज सल्लाहमै च्यात्नुप¥यो ।’
व्यवसाय गर्ने सोचले तीन जना साथी मिलेर त्यो जग्गा भाडामा लिएको गृहमन्त्री गुरुङले बताए । ‘एडभेन्चर टुरिजमका गतिविधि गराउने योजना थियो । भाडामा लिनेबित्तिकै बाटो र संरचना निर्माण ग¥यौं । डेढ, दुई करोड लगानी ग¥यौं, केही वर्षको भाडा पनि ति¥यौं,’ उनले ‘महानगरपालिकामा गएर नक्सा पास गर्न खोज्दा ६५ मिटरभित्र पर्छ भनियो । हामी छाँगाबाट खसेजस्तो भयौं । त्यसपछि हामीले लगानी रोक्यौं । जग्गाधनीले ६५ मिटरमा पर्दैन भनेर मलाई झुक्याएका रहेछन्, अब कानुनी उपचार खोज्छु ।’
‘के कानुनी उपचार खोज्नुहुन्छ ?’ भन्ने प्रश्नमा सुधनले भने, ‘त्यो जमानामा मलाई ठगेकामा जे कानुन लाग्छ, त्यही गर्छु । त्यतिबेला के कानुन लाग्छ, थाहा थिएन, अब गृहमन्त्री भएँ, आइडिया छ, गृहमन्त्रीको हिसाबले होइन, नागरिकको हिसाबले उजुरी दिएर कानुनी उपचार खोज्छु ।’कान्तिपुरमा खवर छ।