प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा अर्यालको मात्र उम्मेदवारीको प्रस्ताव परेकाले आइतबार उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित भएसँगै अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
नेपालमा सभामुखहरूमा दल र सरकारप्रति झुकाव राख्ने तथा रबरस्ट्याम्प बन्ने प्रवृत्ति देखिँदा संसदीय अभ्यास नै विकृत भएको इतिहास छ । यस्तोमा संसदीय मामिलाका जानकारहरू अर्यालसँग संसदीय अभ्यास मर्यादित बनाउने अवसर रहेको बताउँछन् । तटस्थता र निष्पक्षता सभामुख पदको गुण मानिन्छ ।
पदभार ग्रहण गर्दै अर्यालले संविधान, कानुन र नियमावलीलाई पालना गर्दै सबै सांसदहरूको सम्मान हुने र सदनको मर्यादा कायम हुने किसिमबाट निष्पक्ष भूमिका खेल्ने बताए । ‘प्रतिनिधिसभाको सभामुखको काम, कर्तव्य, अधिकार तटस्थ रहनुपर्ने र निष्पक्ष हुनुपर्ने राम्रोसँग बुझेको छु । त्यसैअनुसार काम गर्नेछु,’ उनले भने ।
अर्यालले सदनमा प्रतिपक्षी संख्याको हिसाबले सानो भए पनि जनता सबैभन्दा बलियो प्रतिपक्षी भएको बताए । ‘सदनमा एक मात्र प्रतिपक्षी किन नहोस् प्रतिपक्षी नै हो । उहाँहरू पावरफुल हुनुहुन्छ । सदन भनेको विशेषतः प्रतिपक्षकै हुनुपर्छ भन्ने मैले राम्रोसँग बुझ्न पाएको छु । सबै दलसँग समन्वय गरेर सदन चलाउँछु । कसैप्रति अन्याय हुँदैन,’ उनले भने ।
अर्यालले राज्यका तीनै निकायका साथै प्रतिनिधिसभा र राष्ट्रिय सभासँग पनि प्रभावकारी समन्वय गरिने बताए । ‘राष्ट्र, राष्ट्रियता र जनताको हितमा हुने विषयमा बहस चलाउँदा दुःख गरेर समन्वय गर्नुपर्छ जस्तो मलाई लाग्दैन । किनभने हामी राष्ट्र र जनताका लागि काम गर्दै छौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण हुन्छ जस्तो लाग्दैन,’ उनले भने ।
को हुन् अर्याल ?
धादिङनिवासी अर्याल २१ फागुनको निर्वाचनमा काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनलाई पार्टीको दुईतिहाइ बहुमतको बलमा निर्विरोध सभामुख निर्वाचित हुने अवसर मिलेको छ । उनले विभिन्न व्यवसाय गर्दै आएका छन् । सभापति रवि लामिछानेको चिनजानका आधारमा अर्याल ७ असार ०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुँदा औपचारिक रूपमा राजनीतिमा होमिएका हुन् । पार्टीमा उनी लामिछानेपछि दोस्रो वरीयतामा उपसभापति थिए । सभापति लामिछाने जेल पर्दा अर्यालले कार्यवाहक भएर पार्टी सम्हालेका थिए । ०७९ मंसिरको निर्वाचनमा रास्वपाले २० सिट प्राप्त गर्दा अर्याल खस–आर्यबाट समानुपातिक सांसद बनेका थिए । उनी दुईपटक श्रममन्त्री बनेर काम गरेको अनुभव छ ।
उपसभामुखमा विपक्षी दलहरूको दाबी
सभामुख निर्वाचित भएसँगै भावी उपसभामुखका लागि छलफल सुरु भएको छ । संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित भइसक्नुपर्ने र दुवै पद फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ । सभामुख रास्वपाबाट पुरुष भएकाले अब उपसभामुख विपक्षी दलबाट महिला हुनुपर्छ । उपसभामुखमा हालसम्म नेकपा, श्रम संस्कृति र राप्रपाले दाबी गर्दै रास्वपासँग माग गरेका छन् । तर, यस विषयमा औपचारिक छलफल भइनसकेको रास्वपाले जनाएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा अब छलफल अगाडि बढ्ने बताए । ‘छलफल बिस्तारै अगाडि बढ्छ । दलहरूले हामीलाई उपसभामुख दिनुस् । एजेन्डामा सघाउँछौँ भन्नुभएको छ । कसैलाई दिने कुरै भएको छैन । औपचारिक रूपमा पार्टीभित्र छलफल प्रवेश गरेको छैन,’ उनले भने ।