काठमाडौँ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन् ।भेटवार्ताका क्रममा राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मन्त्री गौतमका स्वकीय सचिव प्रकृति न्यौपानेका अनुसार भेटवार्ताका क्रममा दुवै जनाबीच दुई देशको आपसी सम्बन्धबारे छलफल भएको थियो ।
भेटवार्ताबारे न्यौपानेले भनिन्, ’नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदान प्रदान भयो ।’
बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको मन्त्री र राजदूतबीचको भेटवार्तामा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।