spot_img

प्रधानमन्त्रीले बदले कूटनीतिक प्रचलनः१७ राजदूतसँग सामूहिक वार्ता गरेर दिएकाे सन्देशमा के के भने बालेनले ?

spot_img

देशको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको १२ दिनपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले छिमेकी तथा महत्वपूर्ण राष्ट्रहरूका राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट गरेका छन् । विगतमा छिमेकी तथा नेपालका लागि महत्वपूर्ण मुलुकका राजदूतहरूले प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कूटनीतिक प्रचलन रहे पनि यसपटक प्रधानमन्त्री शाहले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग सामूहिक शिष्टाचार भेट गरेर नयाँ अभ्यास थालेका छन् ।

१३ चैतमा राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहलाई त्यहीँ बधाई ज्ञापन गरेका राजदूतहरूले १२ दिनपछि सामूहिक रूपमा शिष्टाचार भेट गरेका हुन् । कार्यभार सम्हालेपछि विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको यो पहिलो भेट हो ।

यसबिचमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भारत, चीन, अमेरिका, बेलायत र स्विट्जरल्यान्डका राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेकामा प्रधानमन्त्रीको तहमा भने पहिलो सामूहिक भेट बुधबार भएको हो ।

सरकारले वेलामौकामा राजदूतहरूलाई बोलाएर कूटनीतिक प्रस्तुतीकरण गर्दै आए पनि सुरुमै प्रधानमन्त्रीसँग सामूहिक शिष्टाचार भेट नयाँ अभ्यास रहेको परराष्ट्रका अधिकारीले बताएका छन् । ‘प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटका लागि आग्रह गर्नुभएका राजदूतहरूलाई हामीले प्रधानमन्त्रीको रुचिअनुसार एउटै समय र स्थानमा सामूहिक भेट गराएका हौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गणतन्त्र स्थापनापछि यस्तो प्रकारले विदेशी राजदूतहरूबाट प्रधानमन्त्रीसँग भएको सामूहिक शिष्टाचार भेट पहिलो हो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित शिष्टाचार भेटवार्ताको संयोजन परराष्ट्र मन्त्रालयले गरेको थियो । परराष्ट्रका अनुसार बुधबार भारत, चीन, अमेरिका, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबियाका राजदूत÷मिसन प्रमुख एवं तथा संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिले सिंहदरबारमा प्रधानमन्त्रीसँग सामूहिक भेट गरेका थिए ।

प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै राजदूतहरूले आफ्नो देशका कार्यकारी प्रमुखहरूको शुभकामना र बधाई ज्ञापन गरेका छन् । ‘राजदूतहरू तथा मिशन प्रमुखहरूले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै आफ्ना–आफ्ना राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरूका तर्फबाट शुभकामना तथा सन्देशहरू पनि व्यक्त गर्नुभयो । उहाँहरूले नेपाली जनताको हितमा परिणाममुखी कार्य गर्न नयाँ सरकारलाई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो’ भेटवार्ता सकिएपछि परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

सामूहिक शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिब सुमन अर्याल, परराष्ट्र सचिब अमृतबहादुर राई, परराष्ट्र प्रबक्ता लोकबहादुर पौडेल क्षेत्रीलगायत सहभागी थिए । शुरुमा परराष्ट्रसचिब राईले स्वागत गरेसँगै परराष्ट्रमन्त्री खनालले राजदूतहरूलाई सम्बोधन गरे । त्यसपछि सबै राजदूतलाई पालोपालो बोल्ने समय उपलब्ध भयो । उनीहरूले बोलेपछि प्रधानमन्त्री शाहले राजदूतहरूलाई सम्बोधन गरेका थिए । राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री शाह औपचारिक पोशाकमा थिएनन् ।

चार मिनेटको सम्बोधनमा प्रधानमन्त्री बालेन शाहले के भने ?
प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको भाषण नोट पढेर सुनाएका थिए । उनले करिब चार मिनेट सम्बोधन गरेका थिए । ‘नेपालको सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई पुनः पुष्टि गर्दै प्रधानमन्त्रीले छिमेकी राष्ट्रहरू, मित्र राष्ट्रहरू तथा विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिका आधारमा सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो’ परराष्ट्रद्धारा जारी बिज्ञप्तिमा छ, ‘नेपालका विकास प्रयासहरूमा निरन्तर प्राप्त सद्भाव र सहयोगप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गर्नुभयो ।’

प्रधानमन्त्री शाहले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति नै हाम्रो साझा प्राथमिकता हुनुपर्ने उल्लेख गरे । ‘हाल जारी द्वन्द्वले सर्वसाधारण नागरिकहरूलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु’ प्रधानमन्त्रीले भने ।

विदेशमा रहेका नेपाली श्रमिकहरू तथा समग्र नेपाली डायस्पोराको सुरक्षा, सुरक्षिता र हितप्रति सरकार गम्भीर रहेको पनि उल्लेख गरे । उनले सुशासन सुनिश्चित गर्ने, आर्थिक विकास हासिल गर्ने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने सरकारको दृढ प्रतिबद्धतासमेत साझा गरेका थिए ।

प्रधानमन्त्री शाहले अहिले चुनावको प्रक्रियाबाट नयाँ सरकार गठन भएको उल्लेख गर्दै बिगतका नीतिहरूले निरन्तरता पाउने बताउका थिए । ‘सरकार परिवर्तन नियमीत प्रक्रिया हो । यो प्रणालीमा आएको परिवर्तन होइन, चुनावमार्फत् सरकारको परिवर्तन भएको हो । त्यसकारण नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री शाहले नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको उल्लेख गर्दै नेपालको बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित रहेको स्पष्ट पारेका थिए । प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताए ।

यसैगरी उनले राष्ट्रिय हित अनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुतरूपमा समेट्ने लक्ष्य राखिएको समेत सुनाए । सरकार विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको उनको भनाई थियो ।

सुशासनको प्रयासमा राजदूतहरूको समर्थन
सबैजसो राजदूतहरूले सरकारका तर्फबाट बधाई दिँदै सुशासन, विकासको सरकारी प्राथमिकताको समर्थन गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट बधाई र शुभकामना व्यक्त गर्दै नेपालको विकासका प्राथमिकताहरूमा भारतको सहयोग र समर्थन व्यक्त गरेका थिए । उनले दुई देशको सांस्कृतिक, सभ्यतागत एवं जनस्तरको बहुआयामिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।

चिनियाँ राजदूत झाङ माओमिङले चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनबाट प्राप्त हुने लाभहरू नेपालले पनि साझेदारी गर्न सकोस् भन्ने चाहना रहेको बताए । ‘साझेदारीमार्फत् हाम्रो गहिरिँदै गएको विकास सहकार्य थप सुदृढ हुने, विकासका लागि हुने रणनीतिक साझेदारीबाट दुवै देशका जनताले लाभ लिन सक्नेछन्’ राजदूत माओमिङले भने ।

पाकिस्तानी राजदूत अबरार एच हास्मीले पारस्परिक विश्वास, सम्मान तथा विभिन्न क्षेत्रमा सहकार्यमार्फत् सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताए । उनले नेपालसँग सभ्यतागत सम्बन्ध रहेको उल्लेख गर्दै जनस्तरको सम्बन्ध उल्लेखनीय रहेको पनि उल्लेख गरे । सरकारको समावेशी सुशासनको प्रयासमा पाकिस्तान पनि साझेदा बन्न चाहेको उनको भनाई थियो । सबै राजदूतहरूले नेपालसँग सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए ।

बेलायती राजदूतले पढे प्रधानमन्त्रीको चिठी
बुधवारको सामूहिक शिष्टाचार भेटमा नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बेलायती प्रधानमन्त्रीकीर स्टार्मरले पठाएको चिठी पढेर सुनाएका थिए । बेलायती प्रधानमन्त्री कीरले चिठीमा दुइ देशबीच आर्थिक सम्बृद्धि, जलवायु सहनशीलता तथा सुरक्षा लगायतका साझा प्राथमिकताहरूसहित दीर्घकालिन मित्रता रहेको लेखेका छन् । बेलायत नेपालको पहिलो कुटनीतिक सम्बन्ध स्थापना भएको देश हो ।

मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिता
बुधवार प्रधानमन्त्रीसँग राजदूतहरूको शिष्टाचार भेटअघि परराष्ट्र मन्त्रालयले सबै मन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालयमा राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे प्रस्तुतीकरण गरेको छ । परराष्ट्रसचिब अमृतबहादुर राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुतीकरण दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा जोड दिँदै परराष्ट्रसचिब राईले कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा पनि जानकारी दिएका थिए ।

अमेरिका–इरान युद्धविराम, नेपालको स्वागत
नेपाल सरकारले अमेरिका र इरानबीच बुधवार भएको दुई साता लामो युद्धविराम सम्झौताको स्वागत गरेको छ । युद्धविरामले पश्चिम एशियामा तनाव न्यूनीकरणतर्फ एक सकारात्मक कदम चाल्दै संवाद, कूटनीति र मतभेदहरूको शान्तिपूर्ण समाधानका लागि अवसर प्रदान गरेको नेपालले स्पष्ट पारेको छ ।

‘नेपालले यस घटनाक्रमलाई क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने दिशामा एक सकारात्मक प्रयासको रूपमा लिएको छ र विवादहरूको शान्तिपूर्ण समाधानप्रति आफ्नो निरन्तर अडान पुनः दोहो¥याउँदछ’ परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्रले पश्चिम एशियामा द्वन्द्वका कारण उत्पन्न मानवीय असरप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकहरूको सुरक्षा, संरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

पाकिस्तानको पहलमा अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्नै बुधवार सहमत भएका थिए । नेपालले विज्ञप्तिमा पाकिस्तानको नाम भने लिएको छैन । ‘क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति र स्थायित्व प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायद्वारा गरिने सबै प्रयासहरूमा नेपालले आफ्नो समर्थन कायम राख्नेछ’ परराष्ट्रले भनेको छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img