काठमाडौं, सभामुख डोलप्रसाद अर्यालले देश निर्माणका काममा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले आफ्नो सरकार भएको महसुस गर्न पाउने गरी काम गर्नुपर्ने बताएका हुन्।
‘छोराछोरी विदेश जाने क्रम रोकिनुपर्छ र स्वदेशमै रोजगारी सिर्जना हुनुपर्छ। खानेपानी, विद्युत् र इन्टरनेटको पहुँच सबै पालिका र नागरिकसम्म पु¥याउन सरकार प्रतिबद्ध छ। रोकिएका २६ लाख ड्राइभिङ लाइसेन्स ७४ दिनभित्र घरघरमा पु¥याउने र अब ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने काम भइरहेको छ,’ उनले भने।
कम्तीमा दुई वर्षसम्म सबैले सकारात्मक सोच्ने, बोल्ने र लेख्ने हो भने देशको प्रणालीमासुधार आउने उनले विश्वास व्यक्त गरेका छन्। मिडियाले पनि नकारात्मक समाचारलाई मात्र प्राथमिकता नदिई समाजमा भइरहेका राम्रा कामलाई स्थान दिनुपर्ने उनले बताए।
राजनीतिलाई फोहोरी खेल भनिए पनि यसलाई सफा गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूको भएको अर्यालको धारणा छ।
‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी पनि हाम्रै हो। फोहोर गराउने पनि हामीहरू नै हौँ भने त्यो सफा गर्ने जिम्मेवारी पनि हाम्रै हो। आज निर्माण भएको सरकार अब रास्वपाको होइन। अब यो सरकार जनताको हुनुपर्छ। जनताले त्यो महसुस गर्न पाउनुपर्छ। अस्पतालमा बेड पाउन वा स्कुल भर्ना हुन सांसद खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए,’ उनले भने।