नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिसकेको दाबी गरेका छन्।पार्टी मुख्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो। मैले धेरै चोटी भनिसकेँ।’
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको बारे टिप्पणी गर्ने बेला भइनसकेको बताए। उनले भने, ‘हामी हेर्दै छौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन। सकेसम्म राम्रो गरोस्।’सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ।
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भित्र रहेर सरकारले गर्ने काममा आफूहरूले रचनात्मक र सकारात्मक ढङ्गले सघाउने बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिने बताए।
उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रिय हित माथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी चाहिँ त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौँ। हामीले यो स्पष्टसँग सुरुदेखि नै भन्दै आएका छौँ।’
अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको बताए। उनले थपे, ‘जनताले लामो सङ्घर्ष ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू जनवर्गका अधिकार माथि कुनै किसिमको छेडखानी नगरियोस्। अझ त्यसमाथि संविधान संशोधनका पनि कुरा चलेका छन्। संविधान संशोधनका हामी विरोधी छैनौँ। तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुन प¥यो, जनतालाई अधिकार थप्नको लागि हुन प¥यो खोस्नलाई होइन।’