अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुँदैछ।वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डल इस्लामावाद पुगिसकेका छन्। सभामुख मोहम्मद बाघेर गालिबाफ नेतृत्वको इरानी टोली शुक्रबार बेलुकी नै इस्लामावाद पुगेको थियो।
उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी टोली शनिबार बिहान साढे १० बजेपछि मात्रै इस्लामावाद पुगेको थियो।दुवै देशका वार्ताकारहरूलाई पाकिस्तानले रेड कार्पेटमा स्वागत गरेको थियो।
दुवै देशबाट कुटनीति, राजनीति, सैन्य, आर्थिक र कानुनी क्षेत्रका विज्ञ व्यक्तिहरूको सहभागिता छ। इरानबाट मात्रै ७१ सदस्यीय प्रतिनिधिमण्डल इस्लामावाद पुगेको छ। प्रतिनिधिमण्डल ठूलो हुनुलाई वार्ताका लागि दुवै देश संवेदनशील देखिएको भनेर अमेरिकी अखबार वाशिङ्टन पोस्टले लेखेको छ।
वार्ता शनिबार नै सुरू हुन सक्ने बताइएको छ। वार्ताअघि दुवै देशका प्रतिनिधिले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेको न्यूयोर्क टाइम्सले लेखेको छ।प्रधानमन्त्री शरिफकै मुख्य मध्यस्थतामा अमेरिका र इरानबीच युद्धविराम भएको थियो। युद्धविरामपश्चात दुवै देशले प्रधानमन्त्री शरिफलाई धन्यवाद दिएका थिए।
वार्ता अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच आमनेसामने हुने कि पाकिस्तानले मध्यस्थता गर्ने भन्ने टुंगो लागेको छैन।वार्ताअघि इरानले अमेरिकाबाट दुइटा प्रतिबद्धता खोजेको भनेर वासिङ्टन पोस्टले लेखेको छ। उसले लेबननमा पनि युद्धविराम हुनुपर्ने र अमेरिकाले रोक्का गरेको इरानी सम्पत्ति फुकुवा हुनुरपर्ने भनेको छ।
’वार्ताअघि यी दुई विषय कार्यान्वयन हुनुपर्छ,’ सभामुख गालीबाफले एक्स (पहिले ट्वीटर)मा लेखेका छन्। पाकिस्तानका प्रधानमन्त्री शरिफले युद्धविराम कठिन चरणमा पुगेको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शरिफले दुवै पक्ष अस्थायी युद्धविरामबाट स्थायी सम्झौतामा जान खोजिरहेको बेला युद्धविराम कठिन चरणमा पुगेको बताएका हुन्।’अब कि त बन्छ, कि भत्किन्छ,’ उनले भनेका थिए।
के–के विषयमा हुन्छ वार्ता?
युद्धविराम हुँदा इरानले आफूले राखेको १० बुँदे प्रस्तावमा अमेरिका सहमत भएको घोषणा गरेको थियो।
उसले इसराइलबाट आक्रमण रोकिए हर्मुज खुला गर्ने, मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा हटाउने, इरानले न्युक्लियर संम्बद्र्धन जारी राख्न सक्ने, इरानमाथिको प्रतिबन्ध हटाउने, इरानमा भएको क्षति अमेरिकाले ब्यहोर्ने लगायतका १० बुँदामा अमेरिका सहमत भएको भनेको थियो।
युद्धविरामपश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानका प्रस्तावहरू काम गर्न सकिने खालका विषय रहेको बताउँदै मध्यपूर्वमा स्वर्ण युग सुरू हुने बताएका थिए।
तर युद्धविरामको भोलिपल्टदेखि नै ट्रम्पले बोली फेर्दै इरान सम्झौतामा नआए अहिलेसम्म कसैले नदेखेको सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए।उनले अघिल्लोपटक तयार भएको १५ बुँदै प्रस्ताव नै वास्तविक प्रस्ताव हो भन्दै आइरहेका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले इस्लामावादमा हुने वार्ताको सम्भावित प्रस्तावहरूको सूची सार्वजनिक गरेको छ। जसमा अमेरिका र इरानको प्रस्तावहरू उल्लिखित छन्।
इरानले लेबननमा युद्धविराम, अमेरिकामा रहेको आफ्नो सम्पत्ति फुकुवा, वर्षौंदेखिको प्रतिबन्ध हटाउने, स्ट्रेट अफ हर्मुजमा इरानी नियन्त्रण कायम रहने जहाँबाट गुज्रने जहाजहरूबाट लेबी उठाउने, ६ हप्तासम्म भएको अमेरिकी–इसराइली आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने, युरेनियम संबद्र्धन गर्न पाउनुपर्ने, इरानी क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने लगायतका प्रस्ताव राख्नेछ।
तर अमेरिकाले लेबननमा इसराइलले गरिरहेको सैन्य कारबाहीलाई युद्धबिरामको हिस्सा नै नमान्ने बताइसकेको छ। इरानको परमाणु कार्यक्रम रोक्न र मिसाइल उत्पादन घटाए मात्रै प्रतिबन्धमा छुट दिन सकिने अमेरिकाको अडान छ।
अमेरिका स्ट्रेट अफ हर्मुजमा कुनै पनि शुल्क वा नियन्त्रण विना तेल ट्यांकरहरू आवतजावत गर्न सक्ने गरी खुला राख्नुपर्ने पक्षमा छ। क्षतिपूर्तिबारे अमेरिकाले कुरै गरेको छैन। युद्धको तेस्रो हप्तामा ट्रम्प बरू इरान युद्धमा अमेरिकाले गरेको खर्च मध्यपूर्वका अरू देशबाट उठाउन इच्छुक देखिएको भनेर सार्वजनिक भएको थियो।
अमेरिकाले शान्ति सम्झौता नभएसम्म इरान वरपर सैन्य उपस्थित कायम राख्ने भनेको छ। सम्झौता नभए ठूलो स्तरमा युद्ध बढ्न सक्ने उसले चेतावनी दिएको छ।
दुवै देशका प्रस्तावहरू एक अर्कासँग बाझिने भएकाले पनि वार्ता कठिन रहेको विश्लेषण गरिएको छ। तर यसपालि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नै वार्तामा सहभागी हुने भएकाले सम्झौता हुन सक्ने सम्भावना अघिल्लो पटक भन्दा बढी छ। उपराष्ट्रपति भान्स युद्धको पक्षमा ट्रम्प जत्ति कट्टर रहेको मानिँदैनन्।