काठमाडाैँ, नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुलिस क्लबका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ। क्यानले आइतबार विज्ञप्ति जारी गर्दै करणलाई प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै एक सय प्रतिशत म्याच शुल्क जरिवाना गरेको छ।
पीएम कपमा क्रममा करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको क्यानले बताएको छ। सो अभिव्यक्ति खेल भावनाअनुरुप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय गरेर करणलाई कारबाही गरेको क्यान प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
करणले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति शनिबार नै क्षमा मागिसकेका थिए। करणले लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबीच हातपात हुँदा के हुन्छ होला? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु।’
खासगरी ट्रोल क्रिकेटले कतिपय आफ्ना सामग्री रमाइलो तरिकाले लेख्ने गरेको छ। जसमा करणले पनि रमाइलो तरिकाले नै कमेन्ट गरेको देखिन्छ। तर विषय संवेदनशील भएकाले करणको उक्त कमेन्टलाई लिएर कतिपयले प्रश्न उठाए। पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले करणको कमेन्टको विषयमा सामाजिक सञ्जालमै लेखे।
‘नेपाल क्रिकेट संघको सम्झौतामा रहेका एक जना सिनियर खेलाडीले प्रधानमन्त्री कप चलिरहेको समयमा सामाजिक सञ्जालमा कुनै खेलाडीले अम्पायरलाई भौतिक कारबाही गरे कति म्याच ब्यान लाग्छ भनेर जिज्ञासा राख्नु कहाँसम्म उचित हो। नेपालका पूर्वखेलाडीको हैसियतले म यस खालको टिप्पणीको घोर भत्र्सना गर्दछु। यो अभिव्यक्ति क्रिकेट खेलको भावना विपरीत मात्र होइन, बरू सम्पूर्ण नेपाली क्रिकेट अम्पायरको निम्ति अपमानजनक हो भन्ने मलाई लाग्छ।’
लामो पोस्ट लेखेका अन्सारीले अम्पायरिङ सुधार गर्नुपर्ने उल्लेख गर्दै क्यानको ध्यानाकर्षण गराएका थिए। तर उनले उक्त पोस्ट गरेको केही बेरमै हटाएका थिए