नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू निर्वाचनमा पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको बताएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको जानकारी दिए ।
प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ।निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत सङ्कलन गरिरहेको उनले बताए ।
यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने महासचिव पोखरेलले बताए । निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने उनको भनाइ छ।
यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई अनुरोध समेत गरिएको छ। गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले २५ सिटमा खुम्चिएको थियो।