spot_img

कांग्रेसमा संस्थापन र देउवा पक्षबिच झन्झन् दूरी बढ्दैःमहाधिवेशन दुवै पक्ष छुट्टा छुट्टै गर्ने तयारीमा

spot_img

विशेष महाधिवेशन पक्षधर र १४औँ महाधिवेशन पक्षधरबिच आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा कांग्रेसभित्रको विवाद सम्भावित विभाजनतर्फ उन्मुख देखिएको छ । निर्वाचनमा जबर्जस्त धक्काले थला परेको कांग्रेसको भविष्य अदालतको निर्णय र आन्तरिक संवादमा भर पर्ने ठाउँमा पुगेको छ ।अनुशासन समितिले कार्यवाहक सभापति दाबी गरेका पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेपछि आन्तरिक द्वन्द्व थप तीव्र र जटिल मोडमा पुगेको हो । खड्काले स्पष्टीकरणलाई अस्वीकार गर्दै अवैधानिक भनेका छन् भने संस्थापन पक्ष कारबाहीको तयारीमा छ । स्पष्टीकरण नदिने खड्काको अडान र त्यसपछि संस्थापनको एक कदमले कांग्रेसको आन्तरिक एकता जोखिममा पार्नेछ ।

सर्वोच्चमा विचाराधीन आधिकारिकता विवादबारे बिहीबार पेसी तोकिएकोमा त्यसको अघिल्लो दिन खड्कालाई स्पष्टीकरण सोध्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, अनुशासन समितिले खड्कालाई स्पष्टीकरण सोधेपछि कांग्रेसले संवादको जिम्मा सभापति गगन थापालाई दिएको छ । विशेष महाधिवेशनबाट सभापति भएपछि उनले इतर समूहसँग उच्चस्तरीय वार्तालाई प्राथमिकतामा राखेका छैनन् ।

खड्काले १४ चैतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले १८ चैतमा खड्काको नाम नलिई हुँदै नभएको पद (कार्यवाहक) को नाममा गतिविधि नगर्न सचेत गराएको थियो । खड्काले पुनः ३० चैत्रमा कार्यवाहक सभापतिकै नाममा पुनः विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले २ वैशाखमा स्पष्टीकरण सोधेको हो ।

‘..नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधानविपरीत देखिएकाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ,’ संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको निर्णयमा छ ।

विशेष महाधिवेशनलाई अवैधानिक मानेको र आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको वेला स्पष्टीकरण सोध्नु निरर्थक र हास्यास्पद रहेको खड्काको भनाइ छ ।

कांग्रेसको आधिकारिकता मुद्दामा अदालतमा बिहीबार पेसी तोकिएको छ । आधिकारिकताको विषय अदालतमा विचाराधीन अवस्थामा रहेको वेला विशेष महाधिवेशन पक्षधरले १५औँ महाधिवेशनको मिति तोकेको भन्दै त्यसलाई रोक्न माग गर्दै १४औँ महाधिवेशन पक्षधरले दायर गरेको अर्को मुद्दामा पनि बिहीबार नै सुनुवाइ हुँदै छ । कांग्रेसको मुद्दालाई सर्वोच्चले अग्राधिकारमा राखेको छ ।

भिन्दाभिन्दै महाधिवेशन गर्ने दुवै पक्षको तयारी
दुवै पक्ष भिन्दाभिन्दै महाधिवेशनको तयारीमा छन् । सदस्यता नवीकरणको विवाद पनि उत्कर्षमा छ । विशेष महाधिवेशनबाट आएको कांग्रेस कार्यसमितिले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने र आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि १ वैशाखदेखि मसान्तसम्म १ महिने ‘जरा’ अभियान सञ्चालन गरेको छ । सम्बन्धित वडा पुगेर कांग्रेस आइडी नबनाए आगामी असोजमा हुने १५औँ महाधिवेशनमा भाग लिन नपाउने गरी तयारी भएपछि इतरपक्षले आपत्ति जनाएको छ । पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गर्ने विषय नभएको यो समूहको भनाइ छ । यो पक्ष ०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशनको तयारीमा छ ।

इतरपक्षसँग छलफल गर्न सभापति थापालाई जिम्मा
अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशन पक्षधरसँग छलफल गर्न सभापति गगन थापालाई जिम्मेवारी दिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img