आजदेखि नयाँ शैक्षिकसत्रको विद्यार्थी भर्ना शुरू, २१ गतेदेखि पढाइ
काठमाडौं, नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ । सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र गरेको परिपत्र अनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको थियो ।
विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । केही संस्थागत विद्यालयले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो ।