बुटवल, जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको आरोपमा पश्चिम नवलपरासीमा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् ।सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि खोजी कार्य तीव्र पारिएको पन्तले बताए ।यसअघि झुटा विवरण पेस गरी मृत्यु दर्ता गराउने मुख्य आरोपित सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अनुसन्धानका क्रममा अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ का अर्कै ६६ वर्षीय आफन्तको गतवर्ष मृत्यु दर्ता गराएको खुलेको डीएसपी पन्तले बताए । तर, अन्सारीका पिताको मृत्यु भने २०६० सालमै भइसकेको तथ्य भेटिएको छ ।
घटनाको वास्तविकता थाहा पाएपछि मृत्यु दर्तामा नाम समावेश गरिएका वृद्धका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको थियो ।
मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्, भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो ।अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।