spot_img

अर्खे झरीमा सामान सार्ने र कोठा खोज्ने समय समेत नदिएर गरिव सुकुम्वासीकाे उठिवासः१ जना मृत भेटिए,हजाराैँकाे बेहाल सरकार विरूद्द उठ्न थाल्याे प्रश्नैप्रश्न

spot_img

सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले दोस्रो चरणमा उपत्यकाको बागमती क्षेत्रका आठ सयभन्दा बढी संरचनामा डोजर चलाएको छ । गत शनिबारदेखि सुकुमवासी बस्ती हटाउन सुरु गरेको सरकारले शुक्रबार शंखमूल, बालाजु, बल्खु र टेकुको वंशीघाट क्षेत्रमा डोजर चलाएको हो । गत शनिबारदेखि सुरु अभियानको पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइएको थियो । शंखमूल, बालाजु, बल्खु र टेकुको वंशीघाट क्षेत्रका बस्ती हटाउन शुक्रबार १५ वटा डोजर प्रयोग भएका थिए । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार शुक्रबार वंशीघाटमा २०१, टेकु पुल क्षेत्रमा २५, बल्खुमा ४८६, बालाजु क्षेत्रमा १२, शंखमूलमा ९० घरटहरा भत्काइएको छ । भत्काइएका टहरामा ८१४ परिवार आश्रित थिए ।

प्रहरीले पूर्वसूचना दिँदै बासिन्दालाई हटाएको थियो भने कतिपयलाई सामान निकाल्न सहयोगसमेत गरेको थियो । हटाइने निश्चित भएपछि केहीले बुधबार र बिहीबार नै आफ्ना सामान अन्यत्र सारेका थिए । तर, विकल्प नपाएका र कोठा नपाएका धेरैले टहरा छाड्न सकेका थिएनन् । शुक्रबार बिहान ७ बजेदेखि प्रहरी सिटी फुक्दै बस्तीमा पुगेपछि उनीहरूले हतारिँदै सामान सार्न थालेका थिए । सबै सामान निकाल्न नपाउँदै डोजर चलाइएको कतिपयको गुनासो छ ।

महानगरका प्रवक्ता मानन्धरका अनुसार भत्काइएका टहरामा आश्रितमध्ये धेरैजसो आफैँले बसोबासको जोहो गरेका छन् भने थोरै परिवार मात्रै सरकारको आश्रयमा पुगेका छन् । ‘शुक्रबार साँझसम्म भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रको हलमा १३ परिवारका २६ जनलाई पठाइएको छ । अन्य १० जनालाई धापाखेलको केयर सेन्टरमा राखिएको छ, ५० परिवारले रंगशालामा सामान राखेर आफन्त वा आफ्नै तरिकाले बस्छौँ भन्नुभएको छ, अरू सम्पर्कमा आउनुभएको छैन,’ उनले भने, ‘शुक्रबार पानी परिरहेकाले टहरा भत्काएपछि कतिपयको सामान भिजेको पनि थियो ।’

यसअघि सिनामंगल, गैरीगाउँ र थापाथली क्षेत्रका टहरा हटाएपछि हालसम्म करिब १२ सय परिवार सरकारको सम्पर्कमा आएका छन् । उनीहरूमध्ये ३२ परिवारका १४७ जना कीर्तिपुरस्थित राधास्वामी आश्रम, ४२ परिवारका २२० जना होटेलमा र अन्य सुकुमवासी कोही डेरामा, कोही आफन्तकहाँ बसेका छन् ।

हाल राधास्वामी आश्रममा ३५ जना बालबालिका, ७० जना महिला, त्यसमध्ये चारजना सुत्केरी र अन्य पुरुष छन् । हाल सरकारले सुकुमवासीहरूलाई दुई छाक खाना र बिहान–बेलुकी चिया बिस्कुट दिने गरेको छ । कतिपयले बालबालिकालाई पोषण नपुगेको भन्दै गुनासो पनि गरिरहेका छन् । राधास्वामी आश्रममा राखिएकामध्ये तीन परिवार अन्यन्त्रै सरेका छन् । कोचाकोच हुने गरी राखेको र संक्रामक रोगसमेत फैलिन सक्ने भन्दै उनीहरू आफैँ कोठा खोजेर सरेका हुन् ।

होटेलमा बसेकालाई होटेल संघले खर्च व्यहोरेको छ भने आश्रममा बसेको खर्च सहरी विकास मन्त्रालयले व्यहोरेको छ । तर, आफ्नो लुगाफाटो तथा भान्साको सामान कतिपयले सडकमै पाल टाँगेरसमेत राखेका छन् । सिनामंगल क्षेत्रको बागमती करिडोर क्षेत्रमा अझै केही परिवार पालमुनि बसिरहेका छन् ।

हालसम्म भूमि मन्त्रालयले उपत्यकाका नदीकिनार क्षेत्रका तीन हजार ४९६ सुकुमवासीमध्ये सबैको एकपटक प्रमाणीकरण गरिसकेको छ । प्रमाणीकरणका क्रममा ४५० नक्कली सुकुमवासी देखिएको उनले बताए । वास्तविक सुकुमवासीलाई स्थायी रूपमा कसरी राख्ने, उनीहरूको स्वास्थ्य, शिक्षा, रोजगार, बसोबासबारे सरकारले अझै पूरै योजना बनाइसकेको छैन । ‘सुकुमवासी व्यवस्थापनका विभिन्न चरण छन्, पहिले त वास्तविक छुट्याएपछि मात्रै व्यवस्थापन हुन्छ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले भने, ‘वास्तविक सुकुमवासीलाई सहज रूपमा व्यवस्थापन गर्न अझै केही दिन समय लाग्छ ।’

नाम विवरण दर्ता गराएपछि तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गरिनेछ । यी ठाउँ होल्डिङ सेन्टर हुन् ।

स्थायी रूपमा कहाँ राख्ने भन्ने सम्बन्धमा ठोस निर्णय हुन सकेको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकालले अझै स्क्रिनिङको काम चलिरहेको बताउँदै वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्न करिब एक महिनाको समय लाग्ने बताइन् । उनका अनुसार स्थायी रूपमा कहाँ कसरी राख्ने भन्ने सम्बन्धमा निष्कर्ष निस्किएको छैन ।

शुक्रबार बस्तीबाट हटाइएकाहरू भन्छन्– सामान सार्ने र कोठा खोज्ने समय पनि पाएनौँ
संरचना भत्काइएका बस्तीका नागरिकले सामान सार्ने र कोठा खोज्ने समय पनि नपाएको गुनासो गरेका छन् । शुक्रबार दिउँसो सिमसिम पानी परिरहेकै वेला संरचना भत्काउँदा बुढाबुढी, महिला र बालबालिका तनावमा देखिन्थे । अधिकांशले टहरो भत्काएको ठाउँभन्दा बाहिर पालले सामान ओत लगाएर राखेका छन् । स–साना बालबालिका भएका परिवार कोठा नपाइएपछि सडककिनारमै पाल टाँगेर बसेका छन् ।

बल्खुको टहरमा भेटिएकी मधुमाया लामाले बुधबार र बिहीबार सामान सार्न मौसमले साथ नदिएको बताउँदै शुक्रबार अचानक डोजर चल्दा घरभित्रको सामान हतारहतार बाहिर निकालिएको सुनाइन् । उनले आफ्नो सातजनाको परिवार भएकाले सरकारले दिएको स्थानमा पनि सामान सार्न र बालबच्चालाई असहज हुने भएकाले कोठा खोजिरहेको बताइन् ।

‘भाडा तिर्छौँ भन्दा पनि कोठा पाइएको छैन, यता सरकारले दुस्मनलाई जसरी कोठाबाट हटाइदियो । पानी परेकाले सामान सार्न पनि सकिएन,’ उनले भनिन्, ‘ठुलै अपराधीलाई जस्तै व्यवहार भयो । जबर्जस्ती हटाउन मिल्छ र ?’

मधुमायाजस्तै बल्खु क्षेत्रमा टहरामा बसोबास गर्दै आएकी सीता कार्कीले पनि सरकारले आफूहरूलाई घरवासविहीन बनाएको बताइन् । ‘सामान टहराबाहिरै छन् । बच्चा र सामान कहाँ राख्ने भन्ने तनाव छ,’ उनले सुनाइन्, ‘सरकारले एक–दुई दिन कुरेको भए हुन्थ्यो, हामी छाड्ने तयारीमै थियौँ, कोठा नपाएर रोकिएका हौँ । सरकारले पर्खेन ।’

टेकुस्थित वंशीघाटमा बस्दै आएका राजु यादवले कहाँ बस्ने भन्ने टुंगो नभएको बताए । ‘टहराको सामान प्रहरीले बाहिर राखिदिएका छन् । पानी प¥यो भने सरसामान भिज्छ,’ उनले भने, ‘दुई–तीन दिन ढिला डोजर चलाएको भए सामान त सार्न पाइन्थ्यो नि । छोराछोरी बोकेर अब कहाँ जाऔँ । उहाँहरूले एकै ठाउँमा कोचेर राख्नुभएको छ, हामी त्यहाँ जान्नौँ ।’

टहरा भत्काउने खबरले त्रसित बनेका इन्द्रबहादुर मृत भेटिए
वर्षौँदेखि बस्दै आएको ‘टहरा भत्काउन डोजर आउँदै छ’ भन्ने खबर पाएदेखि नै बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार बिहानैदेखि त्रसित देखिन्थे । भरियाको काम गरेर बनाएको एउटा टहरो उनको वासस्थान थियो । उनको परिवार २० वर्षदेखि बस्दै आइरहेको थियो । इन्द्रबहादुरले पाँच वर्षअघि टहरो मर्मतसमेत गरेका थिए । त्यसैमा पनि डोजर चल्ने भएपछि उनले छिमेकीसँग दुःख व्यक्त गर्दै थिए, ‘रगत–पसिना खर्चेर बनाएको टहरो भत्काएको हेर्न सक्दिनँ । यहाँबाट सरेर कतै पनि जान्नँ ।’

इन्द्रबहादुरको भनाइलाई छिमेकीले पीडाको बयानका रूपमा बुझे । घर भत्काउन प्रहरी पुग्दा इन्द्रबहादुर बिहान ८ बजेतिर त्यस क्षेत्रमा देखिएका थिए । तर, ९ बजेपछि उनी छिमेकीसँग भेटिएनन् । कतै गए होलान् भनेर परिवारले समेत खोजी गरेनन् । दिउँसो ३ः३५ बजे बागमती नदीमा कपडाजस्तो वस्तु बगिरहेको थियो । केहीबेरमा हात पनि देखियो, त्यसपछि स्थानीयले प्रहरीलाई बोलाए । बाहिर निकाल्दा उनी रहेछन्– इन्द्रबहादुर । नदीबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।

‘साढे तीन बजेतिर खोलामा हातजस्तो देखिएपछि प्रहरीलाई खबर आयो । त्यसपछि हेर्दा मृतक इन्द्रबहादुर राई हुनुहुँदोरहेछ । उहाँ त्यही क्षेत्रमा बस्नुहुँदोरहेछ,’ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले भने, ‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ, अन्य विवाद वा कलहबारे बुझेका छैनौँ ।’ छिमेकी मनकुमार लामाले भने, ‘घर भत्किन्छ भन्ने भइसकेपछि केही नराम्रो गर्नुभएको हो कि । गलत बानी भएको व्यक्ति त होइन उहाँ । टहराको पीरले नै यस्तो निर्णय लिएको हुनुपर्छ ।’

त्यस्तै, थापाथली क्षेत्रमा बस्ती भत्काउन डोजर चलेपछि बेहोस भएकी रेखा कुँवरलाई वीर अस्पताल पु¥याइएको थियो । डरका कारण उनी बेहोस भएकी थिइन् । अहिले उनको स्वास्थ्य सामान्य भएको अस्पतालले जनाएको छ ।  नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img