रुकुम पूर्व — रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा बिहीबार अपराह्नतिर भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा एकै परिवारका १४ जना रहेको खुलेको छ । यसकारण जिल्ला सदरमुकाम रुकुमकोटका मानिस शोकमा छन् ।जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार दुर्घटनामा परी सिस्ने–५ टाकुरा निवासी वर्ष ३२ का गोर्ख बिसी र उनकी आमा ५२ वर्षीया तिलकुमारी बुढाथोकी, १० वर्षीय छोरा दिव्यन बिसी र २८ वर्षीया भाउजु युभा बिसीको ज्यान गएको हो ।
त्यस्तै, गोर्खकी कान्छी आमा (अन्टी) ४० वर्षीया ओमकुमारी बुढाथोकी र ओमकुमारीका २४ वर्षीया छोरी सृजना बुढाथोकी र १३ वर्षीय छोरा सुदीप बुढाथोकीको ज्यान गएको छ ।साथै युभाकी आमा घोराही–१५ रतनपुर बस्ने ५४ वर्षीया द्रोपदा जिसी, बुबा यमबहादुर जिसी, २५ वर्षीया बहिनी एलिसा जिसी र ३२ वर्षीया भाउजु तिला विष्ट जिसीले पनि यही घटनामा परेर ज्यान गुमाएका छन् ।
यस्तै, एलिसाका छोरा ४ वर्षीय८ संयोग जिसी, तिलाकी छोरी १२ वर्षीया जेनिसा जिसी र ७ वर्षीय छोरा जेनिस जिसी सहित १४ जनाको ज्यान गएको हो । यस्तै, उनीहरुकै आफन्त पर्ने घोराही–१३ की धनमाया विष्टको पनि उक्त दुर्घटनामा मृत्यु भएको हो ।
युभाका एक आफन्तका अनुसार उनका श्रीमान् दीपक केही वर्षदेखि अमेरिकामा थिए । युभा आफ्ना छोरासहित श्रीमान्लाई भेट्न अमेरिका जाने तयारीमा थिइन् । यही वैशाख २८ गते युभा नेपालबाट अमेरिका जाने टिकटसमेत पक्का भइसकेको थियो ।अमेरिका जानुभन्दा अघि घर र माइती तिरकासमेत सँगै भएर जलजलामा शुक्रबार पूर्णिमाको अवसरमा हुने पूजाआजामा सहभागी हुन गाडी रिजर्भ गरेर बिहीबार त्यसतर्फ गएको बताइएको छ ।
यस दुर्घटनामा परी ज्यान गुमाउने अन्य ५ जनामध्ये दाङ शान्तिनगर घर भइ हाल सिस्ने–५ मा बस्ने सवारी चालकः ४२ वर्षीय बेदु कामी र उनकी सासुआमा सिस्ने–५ की ६० वर्षीया मिना विक रहेका छन् ।त्यसैगरी, सिस्ने –५ की ६० वर्षीया लक्ष्मी शाह र २७ वर्षीया रुक्मिना बस्नेत र भूमे गाउँपालिका–५ का टेकप्रसाद बुढा रहेका छन् ।
घटनास्थालबाट सबै शवहरु निकालेर थबाङ गाउँपालिका अस्पतालमा ल्याएर सनाखत गर्ने कार्य सकिएको छ । अब ११ वटा शवलाई रुकुम पूर्व जिल्ला अस्पतालमा ल्याई पोस्टमार्टम गरिनेछ भने बाँकी ९ वटा शवको पोस्टमार्टम जिल्ला अस्पताल रोल्पामा गरेर आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक न्यौपानेले बताएका छन् ।
बिहीबार रुकुमकोटबाट रोल्पाको जलजलातर्फ जाँदै गर्दा थबाङ गाउँपालिका–१ र ४ नम्बरको सिमानामा पर्ने डाँडामा जिप दुर्घटना भएको थियो । जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको घटनास्थालमै ज्यान गएको थियो भने एक जना छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । उनको अवस्था सामान्य भएकाले उपचारपछि घर फर्किसकेका छन् ।
गृह मन्त्रालयले यो दुर्घटनाको छानबिन गर्न बिहीबार सचिवस्तरको निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
यो समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । घटनाबारे विस्तृतः तथ्य कारण छानबिनपछि आउने बताउँदै रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी खुमानन्द पाण्डेले जिल्ला प्रहरी कार्यालयदेखि विभिन्न चेक पोस्टहरुमा गाडी इन्ट्री गरेको र त्यसबखत उसले १ जना चालक, ७ जना महिला र ४ जना पुरुष रहेको भनेर भनिएको बताए ।
‘यात्रुवाहक उक्त जिपको वैधानिक क्षमता १२ जनाको हो । हाम्रो चेक पोस्टहरुमा गाडीवालाले हरेक ठाउँमा जम्मा १२ जना नै यात्रु रहेको भनेर जानकारी गराएको छ, ’ उनले भने, ‘बीचमा मान्छे मनमौजी चढेको देखियो । जुन कुरा प्रहरीलाई छलेर गरिएको छ ।’कान्तिपुरमा खवर छ।