spot_img

आज विश्व प्रेस स्वतन्त्रता दिवसःराष्ट्रपतिकाे शुभकामना सन्देश,नेपालमा बढ्दाे पेशागत कठिनाइ

spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् ।विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।”

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।”

बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रोसामु भएको उल्लेख गर्दै राष्ट्रपति पौडेल त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरे ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ ः अध्यक्ष शर्मा
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएकी छिन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सम्पूर्ण श्रमजीवी पत्रकार, व्यावसायिक सञ्चारगृहहरू तथा विचार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएकी हुन् ।उनले भनेकी छिन्, “विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासङ्घ सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा पुनःएकपटक शुभकामना व्यक्त गर्दछ, प्रेस स्वतन्त्रता पेचिलो बन्दै गएको अहिलेको अवस्थमा मुलुकका विभिन्न पेसागत सङ्गठन र नागरिक अगुवासँग अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासङ्घ ऐक्यबद्धताको अपेक्षा गर्दछ ।”

इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अङ्ग, तह वा अरू कुनै सङ्गठित र असङ्गठित क्षेत्रबाट सङ्कुचन वा नियन्त्रण गर्ने प्रयास भए पनि प्रेस जगतले सशक्त प्रतिवाद गर्दै आएको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएको छ, “अब पनि त्यस्तो प्रतिवाद गर्नुपर्ने अवस्था आइलाग्छ भन्नेमा महासङ्घ स्पष्ट छ, लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु हाम्रा लागि गम्भीर चिन्ताको विषय हो ।”

विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने क्रमको सुरुआत सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित युनेस्कोको सेमिनारबाट भएको हो । उक्त सेमिनारले ‘विन्डहोक घोषणापत्र’ जारी गरेको थियो । यही घोषणापत्रको स्मरण गर्दै सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले युनेस्कोको सिफारिसमा मे ३ लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । त्यसयता, हरेक वर्ष मे ३ का दिन प्रेस स्वतन्त्रताको रक्षा र प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस विश्वभर मनाउने गरिन्छ ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धन’ रहेको छ । युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा मे ४ र ५ का दिन विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले ४ मे देखि ७ मे सम्म पेरिसमा हुने महाधिवेशनमा विश्वका पत्रकारहरु सहभागी हुने सम्मेलनमा यो दिवस मनाउँदै छ । पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको सङ्कुचन र अभिव्यक्ति स्वतन्त्रता माथिकै अङ्कुशका प्रक्रियाहरू हुन भन्ने अध्यक्ष शर्माको बुझाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img