spot_img

सरकारकाे अपरिपक्क निर्णयकाे मारमा विरामीःदुई दिन बिदा र विरामीकाे भिडले अस्तव्यस्त ठुला सरकारी अस्पताल,नीजि अस्पतालमा महँगाे शुल्ककाे मारमा जनता

spot_img

सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेपछि देशका ठुला सरकारी अस्पतालहरूको सेवाप्रवाह गम्भीर प्रभावित भएको छ । बिदाको व्यवस्थाले बिरामीको चाप एकै दिनमा केन्द्रित हुँदा उपचार सेवा अस्तव्यस्त बनेको छ । सीमित स्रोत–साधन र जनशक्तिका कारण सबै बिरामीलाई तत्काल सेवा दिन सम्भव नभएकाले अवस्थाअनुसार प्राथमिकता निर्धारण गर्दै उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालहरूले जनाएका छन् ।संविधानले नै स्वास्थ्य सेवालाई आकस्मिक तथा अत्यावश्यक सेवाका रूपमा परिभाषित गरेको छ । कानुनले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरुद्ध हुन नहुने व्यवस्था गरेको छ । तर, सरकारले आइतबार बिदा लागू गरेसँगै अस्पतालको नियमित सेवासमेत प्रभावित भइरहेको छ । पहिलेदेखि नै शनिबार सार्वजनिक बिदाका कारण अस्पतालहरूमा बिरामीको चाप उच्च हुने गरेकोमा अहिले आइतबार पनि सेवा बन्द हुँदा सोमबार बिरामीको संख्या थेगिनसक्नु भएको छ । परिणामस्वरूप सयौँ बिरामी समयमै उपचार नपाई प्रभावित भइरहेका छन् । भिडका कारण टिकट काटेका बिरामी पनि जाँचबाट वञ्चित भइरहेका छन् ।

सरकारले ६ वैशाखदेखि स्वास्थ्यमा पनि आइतबार बिदा हुने नियम लागू गरेको छ । जसले अधिकांश अस्पतालमा बिरामीको चाप एकै दिनमा अत्यधिक बढेको छ । तथ्यांकअनुसार वीर अस्पतालमा आइतबार औसत दुई हजार २३० बिरामी आउने गर्थे । तर, बिदा लागू भएपछि सोमबार यो संख्या झन्डै दोब्बर हुँदै चार हजार पाँच सय पुगेको छ । यस्तै, ट्रमा सेन्टर मा आइतबार ५८० बिरामी आउने गरेकोमा अहिले सोमबार ८९० पुगेको छ । निजामती अस्पतालमा ९५० बाट बढेर एक हजार तीन सय पुगेको छ भने पाटन अस्पतालमा एक हजार ६५० बाट दुई हजार एक सय पुगेको छ ।

बालबालिकाको उपचार हुने कान्ति बाल अस्पतालमा पनि उस्तै प्रवृत्ति देखिएको छ । आइतबार औसत ६२० बिरामी आउने गरेकोमा सोमबार यो संख्या ८२० पुगेको छ । त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा आइतबार एक हजार नौ सय बिरामी आउने गरेकोमा अहिले सोमबार दुई हजार चार सय बिरामी पुग्ने गरेका छन् ।

सोमबार वीरमा करिब चार हजार पाँच सय बिरामीले टिकट लिएका थिए । तर, करिब तीन हजार पाँच सयले मात्र जाँच गराउन पाए । बाँकी पालो नपाई फर्किन बाध्य भए । ‘बुबाको दाँतसम्बन्धी समस्या थियो, आज अति भिड रहेछ, कुर्दाकुर्दा पालो आएन, अन्तिममा भोलि आउनु आज ओपिडी बन्द भयो भनेर कर्मचारीले भने,’ वीर अस्पतालमा भेटिएका सुर्खेतका हरिशकुमार धामीले भने, ‘गाउँबाट आएको सामान्य उपचारका लागि पनि यति धेरै भिड हुने रहेछ, भाडामा बस्नुपरेको छ, अस्पताल आउँदा पालो नै आएन ।’

लगातार दुई दिन बिदापछि अस्पताल खुल्दा मुख्य वीरमा गेटदेखि नै भिड देखिन्छ । टिकट काउन्टरमै एक घण्टाभन्दा बढी लाइन बस्नुपरेको गुनासो सर्वसाधारणले गरेका गरेका छन् । ‘बिहान ७ बजे आएको, हरेक पाइला–पाइलामा भिड छ, ढाड दुख्ने समस्या थियो, डाक्टरले एक्सरे गर्नु भनेका छन्, तर सोमबार पालो आएन,’ दीलिपा बस्नेतले भनिन्, ‘आइतबार बिदा हुँदा सोमबार अति भिड हुने गरेको रहेछ, यहाँ आएपछि थाहा पाएँ ।’

बाहिर मात्र होइन, सोमबार वीरका अधिकांश वार्ड र विभागमा खचाखच थियो । ओपिडी, एक्स–रे, सिटिस्क्यान, दन्त, अर्थो, मुटु, न्युरो र सर्जरी विभागमा खचाखच भिड हुन्छ । बिरामीको चापले उपचार सेवासमेत अस्तव्यस्त हुँदै छ । ‘पहिलेभन्दा बिरामी धेरै बढेका छन्,’ वीरका एक चिकित्सकले भने, ‘सरकारकै निर्णयले बिरामी मारमा परेका छन् । हामीले आइतबार पनि बिरामी हेर्छौँ भनेकै हो । तर, सरकारले डाक्टरलाई सित्तैमा काम लगाउन खोज्छ । बिरामीले उपचार नपाएकोबारे ध्यान नै दिएन ।’

बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म मात्रै ओपिडी सञ्चालन हुने हुँदा धेरै बिरामीले टिकट काटेपछि पनि जाँचबाट वञ्चित भइरहेका छन् । अस्पतालमा आएरसमेत उपचार गराउन नपाएका बिरामीलाई एकैदिन अस्पताल प्रशासनले अर्को दिन आउन भन्दै फर्काउने गरेको छ । वीरका अर्का एक चिकित्सकले सुनाए, ‘स्वास्थ्य क्षेत्रमा लगातार दुई दिन बिदाको निर्णय गलत छ । यसले नागरिकको स्वास्थ्य अधिकारको अपहरण गरेको छ । सरकारले नै नागरिक स्वास्थ्यलाई गौण ठानेपछि अरूले के गर्न सक्छन् ?’

ती चिकित्सकका अनुसार वीरमा अस्थायी स्वास्थ्यकर्मी कटौती भएपछि जनशक्ति अभाव झन् गम्भीर बनेको छ । करारको चार हजार जनशक्ति फिर्ता भइसकेको उनको भनाइ छ । कतिपय विभाग सातामा सीमित दिन मात्रै सञ्चालन हुन्छन् । उदाहरणका लागि, युरोलोजी विभाग हप्तामा दुई दिन मात्रै खुल्ने भएकाले त्यहाँ बिरामीको चाप अत्यधिक हुन्छ ।

वीरको युरोलोजीमा आइतबार बिदा हुनुपूर्व २५० बिरामी हुन्थे । अहिले बढेर पाँच सय पुगेको छन् । तर, ती बिरामी हेरेर र राम्ररी जाँचेर भ्याउने अवस्था नहुने युरोलोजी विभागका चिकित्सकहरू नै बताउँछन् । ‘आइतबार बिदा हटाएर पालो प्रणाली लागू गरेको भए यस्तो समस्या हुँदैनथ्यो । स्वास्थ्य सेवा प्रशासनिक क्षेत्रजस्तो होइन,’ ती चिकित्सकले भने ।

पूर्व स्वास्थ्यमन्त्री सुधा शर्माका अनुसार सबै क्षेत्रलाई बिदा दिँदा स्वास्थ्यकर्मीलाई बाहिर राख्नु व्यावहारिक हुँदैन । उनले स्वास्थ्य बिमाको भुक्तानी र सेवाप्रवाह सहज बनाउन तथा हाल अध्यादेशमार्फत खारेज गरिएका स्वास्थ्यकर्मी नियुक्ति तत्काल पूर्ति गर्न सरकारलाई सुझाव दिइन् ।

‘अरूलाई बिदा दिँदा स्वास्थ्यकर्मीलाई नदिँदा व्यवस्थापन कठिन हुन्छ, सट्टा बिदा दिन पनि जनशक्ति पुग्दैन,’ उनले भनिन्, ‘बरु इमर्जेन्सी सेवा बलियो बनाउनुपर्छ र नियमित सेवा दिने दिनहरूलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ ।’

स्वास्थ्यमन्त्री निशा मेहताले पछिल्लो समय सेवाप्रवाह सहज भइरहेको दाबी गरिन् । ‘हामी आएपछि वीर र अन्य अस्पतालको सेवा सुधारिएको छ, दिउँसो दुई बजेपछि अस्पतालमा बिरामीको संख्या कम हुन्छ, पहिलेजस्तो छैन,’ उनले भनिन्, ‘हामीले समन्वय गरिरहेका छौँ, सेवा सहज भइरहेको छ ।’

बिमाका बिरामी वीरमा थुप्रिए
मुटुसम्बन्धी विशिष्टीकृत गंगालाल हृदयरोग केन्द्रमा गत माघदेखि स्वास्थ्य बिमा सेवा ठप्प छ । त्यस्तै, त्रिवि शिक्षण अस्पतालमा पनि १ माघदेखि नै बिमा सेवा बन्द गरिएको छ । यी दुई ठुला अस्पतालमा बिमा सेवा रोकिएपछि त्यहाँका बिरामी वीर अस्पतालमा केन्द्रित हुन थालेका छन् । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार, बिमा सेवा बन्द हुनुअघि दैनिक करिब ५०० बिरामीले सेवा लिने गर्थे र अहिले त्यो संख्या बढेर दैनिक करिब १,००० पुगेको छ । उनले भने, ‘दुई ठुला अस्पतालमा बिमा सेवा बन्द भएपछि बिरामी हाम्रोतर्फ सरेका छन् । त्यसैले वीरको भिड कम गर्न अन्य अस्पतालले बिमा सेवा रोक्नुहुँदैन । आइतबार बिदाको निर्णयमा पनि पुनर्विचार आवश्यक छ ।’ वीरमा एमआरआई र सिटिस्क्यानका लागि १५ दिनभन्दा बढी पालो कुर्नुपरेको बिरामीले गुनासो गरेका छन् ।

निजामती अस्पतालमा पनि बढ्यो बिरामीको भिड
आइतबार बिदा लागू भएपछि निजामती अस्पतालमा पनि बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । अस्पताल प्रशासनका अनुसार नियमित सेवा बन्द हुँदा बिरामीहरू अन्य दिनमा केन्द्रित हुन थालेका छन्, जसले सेवा व्यवस्थापनमा दबाब सिर्जना गरेको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार बिदापछि सेवाप्रवाह असहज बनेको छ । ‘मन्त्रालयको निर्देशनअनुसार आइतबार सेवा बन्द गरेका छौँ, तर यसको प्रत्यक्ष असर बिरामीमा परेको छ,’ उनले भने, ‘अहिले दैनिक करिब १,३०० बिरामी आउने गरेका छन्, जबकि पहिले औसत ९५० मात्रै हुन्थे । उनका अनुसार शल्यक्रियाका लागि पर्खिने बिरामीको संख्या पनि बढ्दो छ । हाल अस्पतालमा दैनिक २०–२५ वटा शल्यक्रिया हुँदै आए पनि मागअनुसार सेवा दिन नसक्दा कतिपय बिरामीले पाँच महिनासम्म पालो कुर्नुपरेको अवस्था छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img