काठमाडौं,पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजातको विवरण एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरेको हो ।‘रेड नोटिस अहिले प्रक्रियामै छ । इन्टरपोलले थप आवश्यक कागजात माग गरेको छ’ एक उच्च प्रहरी अधिकारीले भने ।
गत २४ चैतमा देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
देउवा दम्पत्तिविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।
रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।
पक्राउ पुर्जी जारी भएपछि एक वक्तव्य जारी गर्दै देउवाले आफू खुला किताब रहेको बताएका थिए । सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको उनले बताएका थिए ।
उपचारका लागि विदेश आएको उल्लेख गरेका देउवाले तर आफू कहाँ कुन देशमा छन् भन्नेबारे केही खुलाएका थिएनन् ।शेरबहादुर देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा, जयवीर देउवा लगायतको कारोबारबारे समेत अनुसन्धान भइरहेको छ ।
यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएको आरोप लागेको थियो । नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्यालमार्फत भएको विवादस्पद निर्णयपछिको कारोबारलाई पनि शंकास्पद रूपमा हेरिएको छ ।
शेरबहादुर देउवा परिवारले बुढानीलकण्ठमा एउटा कम्पाउन्डभित्र दुई वटा घर बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरू त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पतीमाथि आक्रमणसमेत भयो भने घरमा आगजनी भएको थियो ।
यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बुढानीलकण्ठमा जलेका नोटहरू भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटको भिडियोसमेत सार्वजनिक भएको थियो ।त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो ।