संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकले ३३औँ प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा शर्मालाई सिफारिस गरेको हो।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण १८ चैतमा अवकाश भएका थिए। न्यायपरिषदले सिफारिस गरेकामध्येबाट शर्माको नाममा प्रधानमन्त्री बालेन्द्र शाह, कानुनमन्त्री सोविता गौतम, सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रुबिकुमारी ठाकुर सहमत भएका हुन्।
परिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।
डा. शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि प्रधानन्यायाधीश नियुक्त हुने छन्।शर्माको जन्म २०२७ असार ४ गते (सन् १९७० जुन १८) मा पर्सा जिल्लाको वीरगन्जमा भएको हो। उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।उनले २०५२ सालमा अधिवक्ताका रूपमा दर्ता भई कानुनका विभिन्न क्षेत्रमा वकालतमा सक्रिय भएका थिए । उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श पनि प्रदान गरेका छन् ।
२०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेको अनुभव उनीसँग छ।उनी ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका थिए । त्यसको पाँच वर्षपछि उनी सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।