नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन शाह काठमाडौंको मेयर हुँदै देशकै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित भएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै संयोजक प्रचण्डले आफूहरूले कोरेको क्रान्तिकै बाटोमा टेकेर मुलुक समानुपातिक र समावेशी दिशामा अघि बढेको भन्दै गर्वबोध गरेका हुन्।
‘बालेन शाह काठमाडौंको मेयर हुँदै देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, मेरो लागि क्रान्तिकै संकल्पको जित हो भन्ने म ठान्दछु। मैले यसकारण पनि यो प्रशंक उठाएको हुँ कि, क्रान्तिका उपलब्धीमाथि गर्व गरिरहेको यही समाजकै पात्रलाई क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन्,’ उनले भने।
संयोजक प्रचण्डले निर्वाचन परिणामका हिसाबले निकै खुम्चिए पनि चुनावको पक्षमा वातावरण बनाउन नेकपाले अहम् भूमिका खेलेको बताए।‘हामीले खेलेको भूमिका नवनिर्वाचित तपाईं सांसदहरूलाई अवगत नै होला भन्ने ठान्छु। परिणामका हिसाबले सानो, ठूलो जे जोसुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, उपेक्षित, उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषीय प्रतिनिधित्व मेरो लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ र महत्त्वपूर्ण रहिरहनेछ,’ उनले भने।
अहिले धेरैजसो सांसद नयाँ भएको भन्दै आजजस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो नभएको स्मरण गराए।‘प्रजातन्त्र आइसकेको भनिए पनि २०४८ सालको संसदमा दलितको प्रतिनिधित्व जम्मा १ जनाको थियो। अहिले १७ जनाको छ। २०५१ र २०५६ मा एउटै पनि दलितको प्रतिनिधित्व थिएन। २०४८ सालमा जम्मा ६ जना महिला हुनुहुन्थ्यो। २०५१ र २०५६ मा १२ जना हुनुहुन्थ्यो। अहिले ९६ जना महिला हुनुहुन्छ। आदिवासी, जनजाति, उत्पीडित, मधेसी समुदायको हकमा पनि तथ्यांक यही हो,’ उनले भने।
यो प्रतिनिधित्वको कथा रगतले लेखिएको उनको भनाइ थियो। ‘म तपाईं सम्पूर्ण नयाँ माननीयहरूलाई इतिहास एकफेर अध्ययन गर्न, मनन गर्न आग्रह गर्छु। र, कथा क्रान्तिले लेखिएको छ। पिठ्युँमा दूधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ। मोल तोकिएका टाउकाहरूले लेखिएको छ,’ उनले भने।
आफूहरूले जीवनको सबैभन्दा उज्यालो समय अन्धकारसँग लडेर नै बिताएको उनले बताए। ‘क्रान्ति, संघर्ष र बलिदान हाम्रा लागि शब्द थिएनन्, जीवनचर्या बनेको थियो। क्रान्तिको त्यो मसाल हामीले आफ्नै रगतले लेखेको थियौं, बालेका थियौं। मैले त्यसै भन्ने गरेको होइन– मैले यो सम्मानि संसदमा जसको प्रवेश भए पनि मलाई आफ्नै प्रवेश भएजस्तो लाग्छ। सामन्तवादविरूद्ध हामीले बोकेको बन्दुकले ढोका नखोलेको भए कहाँबाट प्रवेश गरेर यहाँ मन्त्री बन्नुहुन्थ्यो, दलित, उपेक्षित, उत्पीडित, महिला, जनजाति, आदिआदि,’ उनले भने।
शान्ति प्रक्रिया लगत्तै काठमाडौंका भित्ताहरूमा तत्कालीन नेकपा माओवादीले मधेसी हुनुको गर्व स्थापित गर्ने अभियान सञ्चालन गरेका बताए। ‘मलाई लाग्छ, तपाईंहरूमध्ये धेरैलाई यो कुराको स्मरण होला, काठमाडौंसँग मधेसले काठमाडौंमै मधेसले आत्मसम्मान र पहिचानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरिएको थिएन भन्ने मेरो दाबी छ,’ उनले भने।
२०६४ सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो– प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले तत्कालीन माओवादीले २०६४ सालको पहिलो संविधान सभामा ल्याएको मत र हैसियत सम्झेका छन्।अहिले रास्वपाले जस्तै त्यसबेला आफ्नो पार्टीले धेरै मत ल्याएको उनको भनाइ छ। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो जस्तै अवस्था रास्वपाको पनि हुने हो भनेर चिन्तित भएको बताए।
‘राजनीतिक यात्राको अत्यन्त उतारचढावपूर्ण हाम्रो, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ, जित पचाउन त्यो भन्दा कठिन हुन्छ। तपाईंहरू जस्तै य६४ सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो,’ उनले भने, ‘तपाईंहरू पनि त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्यो भन्दा गाह्रो हुन्छ।’