अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बिहान बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार द ग्रेट हल अफ द पिपुलमा भएको पहिलो दिनको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले ताइवानको सवाल दुईपक्षीय सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए ।‘ताइवानको विषय चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण छ । यसलाई राम्रोसँग लैजान सकियो भने दुईपक्षीय सम्बन्ध स्थिर हुनेछ । अन्यथा, दुई देशबीच टकराव र द्वन्द्व पनि निम्तिन सक्छ, जसले समग्र सम्बन्धमै जोखिम उत्पन्न गराउनेछ,’ सीको भनाइ उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्र मान्ने गर्छ । अमेरिकाले विभिन्न समयमा एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको छ । तर, ताइवानलाई पनि हतियार तथा सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । सन् १९७९ मा अमेरिकी कंग्रेसबाट पारित भएको ‘ताइवान रिलेसन्स एक्ट’ अन्तर्गत अमेरिकाले यस्तो सहयोग उपलब्ध गराउँछ । आलोचकहरूले यसलाई अमेरिकाको रणनीतिक अस्पष्टता भन्ने गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवान नीतिमा अमेरिकाको अडान परिवर्तन नभएको बताएका छन् । ‘चीनले सधैं यो सवाल उठाउँछ र सधैं हामी हाम्रो अडान स्पष्ट गर्छौं । भेटपछि सी र ट्रम्प बेइजिङको टेम्पल अफ हेभन भ्रमणमा गए । जहाँ सीले चिनियाँ दर्शन र यसलाई संरक्षण गर्ने दिशामा कम्युनिस्ट पार्टीले खेलेको भूमिकाबारे ट्रम्पलाई जानकारी गराए । ६ सय वर्ष पुरानो यस मन्दिरमा चिनियाँ शासकहरूले कार्यक्रम गरेर राष्ट्रिय समृद्धि, शान्ति र अनुकूल मौसमको कामना गर्ने गरेको जानकारी सीले गराए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीले जनकेन्द्रित दर्शन र चिनियाँ सभ्यतालाई ग्रहण र विकास गरेको छ,’ सीलाई उद्धृृत गर्दै चीन सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रम्प मात्रै नभएर विश्वका अन्य नेताहरूसँगको भेटमा पनि सीले चिनियाँ इतिहास र संस्कृतिको वैभवको प्रशंसा गर्ने गरेका छन् । कम्युनिस्ट पार्टीको शासनलाई जनमुखी ठहर गर्न र पश्चिमी दबाबको प्रतिरोध गर्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।
सीले चीनको रूपान्तरण र ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नीति साथसाथ अघि बढ्न सक्ने बताएका थिए । जवाफमा ट्रम्पले सीलाई भव्य स्वागतका लागि धन्यवाद दिए । उनले अमेरिकाको प्रारम्भिक विकासमा चिनियाँहरूले खेलेको भूमिकाको कदर गरे । ‘चिनियाँहरू बास्केटबल मन पराउँछन् र नीलो जिन्स लगाउँछन्,’ ट्रम्पले भने, ‘चिनियाँ जनता र अमेरिकीबीच धेरै कुरा साझा छन् ।’ ट्रम्प र सीबीच शुक्रबार पनि भेटवार्ता हुनेछ । त्यसक्रममा इरान युद्ध, व्यापार, प्रविधि, कृषि उत्पादनको आयात–निर्यातलगायत विषयमा छलफल तथा सम्झौता हुने अपेक्षा गरिएको छ ।