सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन थालेको प्रक्रिया र बस्ती खाली गर्न जारी गरिएका सूचनाविरुद्ध भूमिहीन तथा सुकुम्वासीहरूले कडा प्रतिवाद जनाएका छन्।रुपन्देहीको बुटवलमा आइतबार दिउँसोको ४१ डिग्री तापक्रममा उनीहरू दिनभर सरकारविरुद्ध प्रदर्शन र नाराबाजी गरे । देशका विभिन्न क्षेत्रबाट जम्मा भएका हजारौँ सहभागीहरू मध्ये अधिकांश महिला तथा बालबालिका थिए भने केही प्रतिनिधिमूलक रूपमा पुरुषहरू सहभागी भएका थिए । दिउँसो १ बजे राजमार्ग चौराहाबाट करिब साढे २ किलोमिटर नाराबाजी गर्दै उनीहरूले प्रधानमन्त्री बालेन शाहलाई पदमा बस्ने कुनै नैतिकता नभएको बताए ।उनीहरूले हिजो आफूहरूलाई चुपचाप घण्टी छाप बनाएर दुई तिहाइको मत पाएर अहिले आफूहरूलाई सडकमा ल्याएका कारण अब सरकारले माफी मागेर पूर्ण व्यवस्थापनको घोषणा नगर्दासम्म आन्दोलन फिर्ता नहुने जनाएका छन् ।
उनीहरूले ‘हाम्रो मत वैध, हामी कसरी अवैध’, ‘बालेन तिम्रो पाराले, दुःख पायो साराले’, ‘बालेन सरकार राजीनामा दे’, ‘आउने चुनावमा बालेनलाई मत दिन्नौ’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। देशभरका सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले संयुक्त रूपमा प्रदर्शन गरेका छन्। विरोध ¥याली बुटवलको राजमार्ग चौराहाबाट ट्राफिक चोक पुगेर कोण सभामा परिणत भएको थियो।
सरकारले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गा संरक्षणका नाममा डोजर आतकंक मच्चाएको भन्दै आइतबार हजारौँ जनता सडकमा उत्रिएका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको राजीनामा माग्नुका साथै मत फिर्ताको नारासमेत लगाएका थिए ।चर्को घामका बीच उपस्थित भएका उनीहरूले ‘बालेन सरकार मुर्दावाद’, ‘हाम्रो मत फिर्ता गर’, ‘डोजर आतंक बन्द गर’, ‘अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर’,
गाँस, ‘बासको सुनिश्चित गर’, ‘डोजर होइन समाधान दे’, ‘सुकुम्वासी हुनु रहर होइन, बाध्यता हो’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आन्दोलित हुन बाध्य पारिएको उनीहरूले बताए ।नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट समेत हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए ।
संघको निर्देशन भन्दै स्थानीय प्रशासनले विभिन्न क्षेत्रमा बस्ती हटाउन थालेपछि आक्रोशित बनेका उनीहरूले प्रदर्शनका क्रममा जबर्जस्ती डोजर चलाइए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन्। आन्दोलनकारीहरूले आफूहरू दशकौँदेखि बसोबास गर्दै आएको ठाउँबाट हटाउन खोजिनु अन्यायपूर्ण भएको बताएका छन्।
भूमिहीन संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकले प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिँदै राज्यले नागरिकबाट कर लिने, मतदान गराउने तर बसोबासलाई अवैध ठहर गर्ने दोहोरो व्यवहार गरेको बताए।उनले दशकौँदेखि बसेका सर्वसाधारणको विचल्ली बनाएर गुमनाम बस्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै हजारौँको शक्तिलाई नजरअन्दाज गरिए त्यसको मूल्य महँगो पर्ने जनाए । उनले भूमिहीनहरूसँग पनि कर तिर्ने, मतदान गर्ने र राज्यको दायित्व पूरा गर्ने वैधानिक नागरिक भएको दाबी गरेका छन्।
‘यदि हामी बसेको जमिन अवैध हो भने हामीले दिएको मतबाट बनेको सरकार कसरी वैध हुन्छ ?’ उनले भने। विगतमा राजतन्त्रकालमा हुकुम प्रमाङ्गीमार्फत धेरैले जग्गा प्राप्त गरेको उल्लेख गर्दै देशको सबै जमिन अन्ततः राज्यकै सम्पत्ति भएको उनको तर्क छ। ‘एउटै देशमा एउटै नेपालीलाई फरक व्यवहार गर्न पाइँदैन,’ उनको भनाई छ।भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीका संयोजक खड्ग बहादुर पौडेलले सुकुम्वासी तथा भूमिहीनहरूले कुनै पनि बस्तीमा डोजर चलाइए देशभरका बासिन्दा एकजुट भएर प्रतिरोधमा उत्रिने चेतावनी दिए।
सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको घर घेराउ गर्ने र आन्दोलन थप कडा बनाउने उनीहरूको भनाइ छ। रूपन्देहीमा मात्रै ७९ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेको र यस्तो समस्या देशभर रहेकोले अब त्यसै नछाड्ने जनाए ।आफूहरू ६०–७० वर्षदेखि बसोबास गर्दै आएको, विद्युत्, खानेपानी लगायतका सेवा शुल्क र कर तिरिरहेको भन्दै लालपुर्जा पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताएका छन्।
आन्दोलनकारीहरूले प्रमुख राजनीतिक दलहरू र स्थानीय सरकारप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचनका बेला सुकुम्वासीलाई आश्वासन दिने तर अहिले बस्ती हटाउन खोजिएको आरोप उनीहरूको छ। अर्का अधिकारकर्मी नरेन्द्र दर्जीले सरकारी डोजर नीतिले सुकुम्वासीको उठिबास लगाएको भन्दै प्रदर्शनमा उत्रन बाध्य भएको बताए । यसैबीच भोली सोमबारदेखि बुटवलमा सुकुम्वासीहरूको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।
सम्मेलनका लागि देशका विभिन्न जिल्लाहरूबाट प्रतिनिधिहरू बुटवल आइसकेको संघर्ष समिति रुपन्देहीका सल्लाहकार वीरेन्द्र विकले बताए ।