काठमाडौं, हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।यसको प्रभावले काठमाडौंसहित बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।शुक्रबार बिहान काठमाडौंको टोखा, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, भक्तपुरको टथली, नाला, काभ्रेको पाँचखाल, ताप्लेजुङमा वर्षा भइरहेको छ।
गएको चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी ८१.६ मिलिमिटर वर्षा मापन भएको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि मध्यम र भारी वर्षा मापन भएको छ।शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केहि स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।