काठमाडौं, ११ फागुन । श्रीलंकाली क्रिकेटर उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय ब्याट्सम्यान थरंगाले मंगलबार सन्यासको घोषणा गरेका हुन् ।थरंगाले १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिदा गर्ने बेला भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूमा विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद समेत दिएका छन् ।
विकेटकिपरको भूमिका समेत निर्वाह गर्न सक्ने थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २३५ एक दिवसीय अन्तर्राष्ट्रिय र २६ ट्वान्ट्वी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्टमा ३ र ओडीआईमा १५ शतक प्रहार गरेका छन् ।२०१९ मार्चयता थरंगा श्रीलंकाको राष्ट्रिय टिममा परेका छैनन् ।
सन् २००५ मा भारतविरुद्ध टेष्टमा डेब्यु गरेका उनले पछिल्लो पटक भारतविरुद्ध नै २०१७ मा टेष्ट खेलेका थिए । यस्तै २००५ मा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले २०१९ मा साउथ अफ्रिका विरुद्ध पछिल्लो पटक ओडीआई खेलेका थिए ।यस्तै सन् २००६ मा इंग्ल्याण्ड विरुद्ध टी(२० मा डेब्यु गरेका थरंगाले पछिल्लो पटक २०१८ मा बंगलादेश विरुद्ध टी(२० खेलेका थिए ।