काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी(जसपा)सँग सत्ता सहकार्यका बारेमा छलफल गरेको छ ।विहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले जसपाका शीर्ष नेतृत्वसँग सत्ता सहयात्राका बारेमा छलफल गरेका हुन् ।
छलफलका लागि जसपाका नेता महन्थ ठाकुरसहितका नेता पेरिसडाँडा पुगेका थिए । छलफलमा वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठको पनि सहभागीता रहेको थियो ।मंगलबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्ने आदेश दिएसँगै विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
छलफलमा प्रचण्ड–माधवले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । उनीहरूले सत्ता सहकार्यका विषयमा समेत छलफल गरेका थिए । प्रचण्ड–माधवको प्रस्तावमा सकारात्मक रहेका जसपा नेताहरूले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतमा रहेको र अध्यक्ष उपेन्द्र यादव उपत्यका बारिह रहेकाले उनीहरु फर्किएपछि छलफल गरेर निष्कर्षमा पुग्ने उनीहरुको भनाइ थियो ।जसपा संसदको तेस्रो ठूलो दल हो उ सँग ३२ सांसद छन् । ३४ मध्ये दुई सांसद निलम्बनमा रहेका छन् ।नेकपाको प्रचण्ड माधव पक्षले यसअघि हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको थियो प्रचण्ड माधव पक्षलाई सरकार बनाउनका लागि जसपाले दिने साथ भने पर्याप्त नहुने देखिएको छ ।
पार्टी औपचारिक रुपमा विभाजित नभइसकेका कारण कति सांसद उक्त समूहमा हुन्छन् भन्ने टुंगो लागेको छैन । यसअघि संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा प्रचण्ड माधव पक्षसँग ९२ सांसद रहेको दाबी गरिएको थियो । त्यसमध्ये केही ओली पक्षमा लागेका छन् भने केही कतैपनि खुलेका छैनन् ।जसले गर्दा जनता समाजवादीको साथमात्रले पनि उक्त समूहले सरकार बनाउने अवस्था बन्न गारो पर्ने देखिएको छ । संसदमा बहुमत कायम गर्नका लागि १३८ सांसद आवश्यक हुन्छ ।