काठमाण्डु, प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु अहिले गम्भीर मोडमा रहेको बताएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले आफुहरु संसदको अधिवेशन, सरकार संविधानकोकार्यान्वयन, समृद्धि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा रहेको बताएका छन् ।
उनले पार्टीको आधिकारिक धारणा पार्टीका आधिकारिक नेताहरुबाट बुझ्न आग्रह गरेका छन् । प्रवक्ता श्रेष्ठले सञ्चारमाध्यमहरुमा आएका विभिन्न खाले समाचारहरु पार्टीको आधिकारिक व्यक्तिबाट नआएको भन्दै आधिकारिक व्यक्तिसँग बुझेर मात्रै लेख्न आग्रह गरेका हुन् ।
‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं’, उनले भनेका छन्, ‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरू छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरूको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरूकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’