काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आक्रोश पोखेका छन् । संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका हुन् ।ओली पक्षले सत्तामा टाँसिरहने नियतकासाथ सासदलाई आफ्नो पक्षमा पार्न सुटकेसामा पैसा बोकेर हिँड्न थालेको आरोप समेत लगाए ।
शनिवार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरुसँगको छलफमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ भढेर गएको बताए ।
उनले भने, ‘संसद पुनर्स्थापनासँगै सबै चिज ठिकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृंखला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया शुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’कार्यक्रममा पार्टीभित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने र गोर्खाको समग्र विकास निर्माण र पार्टी निर्माणको विषययमा छलफल भएको थियो ।