विराटनगरः मोरङ र झापाको सिमाना भएर बग्ने मावा खोलाबाट बालुवा भर्दै गर्दा ट्याक्टरको ट्रलीले किचेर एक जनाको सोमबार दिउँसो मृत्यु भएको छ ।बालुवा लोड गर्दैगर्दा पल्टिएको प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरको ट्रलीले किचेर मोरङको रतुवामाई नगरपालिका–८ का ५१ वर्षीय गौरीमान खड्काको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए ।
उनका अनुसार मोरङको उर्लाबारी नगरपालिका–१ र झापाको दमक नगरपालिका–३ को सिमाना भएर बग्ने मावा खोलामा घटना भएको हो । खोलाबाट बालुवा उठाएर भर्दै गर्दा अचानक पल्टिएको ट्रलीले दिउँसो १ बजेतिर किचेपछि खड्काको घटनास्थलमै ज्यान गएको राईको भनाइ छ ।
बालुवामा पछाडिको चक्का भासिएर ट्रली पल्टिएको प्रहरीले जनाएको छ । मृतक खोलाबाट उठाएर बालुवा र गिट्टी ढुवानीका साधनमा लोड गर्ने मजदुर भएको खुलेको डीएसपी राईले बताए । प्रहरीले ट्याक्टरका चालक उर्लाबारी–९ का २८ वर्षीय रामबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको उनको भनाइ छ ।