काठमाडौँ– आन्तरिक कलहले दुई चिरामा विभक्त नेकपा एकतालाई लिएर दोस्रो तहका नेताहरुले छलफल तीव्र पारेका छन्। यो पार्टी जुटाउने अन्तिम कसरत हो।आफ्नो खेमामा एकअर्कालाई कारवाही गर्ने र एकता प्रक्रिया समानानन्तर रुपमा चलेको छ।बिहीबार ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले सिंहदरबारमा छलफल गरेका छन्।
छलफल एकतामै केन्द्रीत भएको बुझिएको छ। यसअघि बिहीबार एकताको पक्षमा अभियान चलाइरहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमले दोस्रो तहका नेताहरुको सहयोगमा ओली, दाहाल र नेपाललाई घेराबन्दी गरेर भएपनि एकता गर्ने दाबी गरेका थिए।कोरोनाबिरुद्धको खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा गौतमले एकता सम्भव भएको दाबी गरेका छन्।
विवादै विवादबाट ग्रस्त नेकपा संसद विघटन भएसँगै ओली र दाहाल पक्षले छुट्टाछुट्टै राजनीतिक अभ्यासलाई निरन्तरता दिएका छन्। नेकपा एकतामा चीनले देखिनेगरी भूमिका खेलिरहेको छ।