काठमाडाैँ, पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले आफ्नो क्षेत्रबाट बामदेव गौतमलाई उम्मेदवार बनाउने भन्ने कुरा झुठो र भ्रामक भएको बताएका छन् । शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको थियो ।
यो निर्णय हुनुमा पार्टी महासचिव विष्णु पौडेलले पाल्पा–१ का सांसद रानालाई राजीनामा गराई बामदेवलाई त्यहाँ उम्मेदवार बनाउन सहमत गराएको भनी समाचार आएका थिए । उक्त समाचार भाइरल भएपछि राति १२ बजेर ४ मिनेटमा फेसबुकमा स्टाटस लेख्दै सांसद रानाले उक्त कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको उल्लेख गरेका छन् ।


















