काठमाडौँ – नेकपाको एकता भंग गर्ने सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति आफू सहमत नरहेको स्पष्ट पार्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले तर त्यसलाई मान्ने बताएका छन् ।बुधबार संसद बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘न्यायालयले भनेको मान्नु पर्छ, मान्नै पयो । सहमति–असहमति आफ्नो कुरा छ, त्यहि भएर त पुनरावेदन वा पुनरावेदनमा जान्छन् । म चाहिँ फैसलामा सहमत छैन ।’
जसपालाई लिएर सरकार बनाउने बारे कुरा भइरहेको भन्ने विषयमा आफूलाई जानकारी नै नरहेको उनले बताए ।तत्कालीन नेकपाको प्रचण्ड–नेपाल खेमाका एमाले सदस्यहरु वर्तमान सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हामी पार्टीमा छलफल गर्छौँ । पार्टी, आन्दोलन, सरकार कसरी लैजाने ? जनताको विश्वास कसरी जित्ने, अरु पार्टीसँगको सम्बन्ध कस्तो हुने भन्नेबारे छलफल हुन्छ । विमत्तिबारे विस्तृति छलफल हुन्छ । छलफल, बहस, विवाद नै लोकतान्त्रिक पार्टीको विशेषता हो ।’
उनले छलफल, बहस र विवादबाट कहिल्यै नडराउने बताए । एमालेको केन्द्रीय समिति बैठक बोलाउने बारे केही थाहा नभएको बताएका उनले सरकार गिराउन लागेको भन्ने आरोपबारे आफूलाई जानकारी नभएको दाबी गरे ।उनले भने, ‘उनले खै मलाई त थाहा छैन । सरकारबारे कुरै भएको छैन ।’