काठमाडौं, प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूलाई सार्वजनिक कार्यक्रममार्फत बैठकमा आउन आह्वान गरेका छन् ।‘प्रशस्त समय रहोस् भनेर ७ चैतलाई बैठक बोलाएको छु । सुनिनँ भन्न पाइनेछैन । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ आफ्नो समूहको अनेमसंघको कार्यक्रममा शनिबार ओलीले भने, ‘म सबैले सुन्ने गरी भन्न चाहन्छु, ७ गतेको बैठकमा आउनुहोला ।’
प्रधानमन्त्री ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नआएको भन्दै नेपाल–खनाल पक्षलाई व्यंग्य पनि गरे । ‘हिजो (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्यौँ, उहाँहरू आइपुग्नुभएन । पहिलेदेखि नै उहाँहरू आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ, पेरिसडाँडामा रुवाबासी गर्दै अदालतको फैसलापछि बिदावारी भएको थिए रे । अर्याल होटेलसम्म आइपुग्नुभएको छ, त्यहाँ एक–दुई रात वास बस्नुभएको भन्ने सुनियो । बैठकमा आइपुग्नुभएको छैन,’ उनले भने । नेपाल–खनाल पक्षले भने बैठकको खबरै नगरी एकलौटी निर्णय गरेको दाबी गर्दै आएको छ ।प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डसँग मिलेर इतर पक्षले कारबाही गरेकोमा पनि आक्रोश पोखे । ‘बाटाबाटामा अध्यक्षको पगरी बाँडेर हिँड्ने । म त अध्यक्ष भएँ पनि भने बाटाबाट । तपाईंहरूलाई अचम्म लाग्दैन ? मलाई त अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट पनि निकालियो । यिनले सक्ने हो भने के गर्दा रहेछन्, देख्नुभयो नि !’ उनले भने ।
‘निर्वाचन २० महिनापछि’
प्रधानमन्त्री ओलीले संसद्ले पूर्ण कार्यकाल काम गर्ने र मुलुक छिट्टै निर्वाचनमा नजाने संकेत गरेका छन् । संसद् विघटन गरेर चुनाव घोषणा गर्ने निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएपछि पनि चुनाव गराउने आफ्नो निर्णय सही भएको जिकिर गर्दै आएका उनले पहिलोपटक त्यस्तो संकेत गरेका हुन् ।‘०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झन्डै दुईतिहाइ बहुमतका साथ सिंहदरबार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ । २० महिनापछि फेरि यो सूर्य चिह्नधारी नेकपा एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूलगेटबाट भित्र पस्छ,’ ओलीको भनाइ थियो ।
नयाँ सरकार गठनबारे जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीसहित कांग्रेस र माओवादी केन्द्रसँग समानान्तर संवाद चलाइरहेका वेला आएको उनको पछिल्लो अभिव्यक्ति अर्थपूर्ण छ । यसअघि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले देश ‘अर्ली इलेक्सन’तिर जान सक्ने संकेत गर्दै आएका थिए । प्रधानमन्त्री ओलीले भने पहिलोपटक देशमा तत्काल चुनावको सम्भावना नरहेको संकेत गरेका हुन् ।