सुर्खेत, १ चैत्र गाडीभाडा नपाएपछि धर्नामा बसेका कर्णालीका वादी समुदाय सुर्खेतमै रोकिएका छन् । वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँचबुँदे सम्झौता भए पनि उनीहरु सुर्खेतमै रोकिएका हुन् ।सरकार र आफूहरु बीच घर फर्किने सम्झौता भए पनि गाडी भाडा नहुँदा पाँच दिनदेखि सुर्खेतमै रोकिनुपरेको वादी समुदायका अगुवा हिक्मत वादीले बताए ।
‘सरकारसँग आन्दोलन रोकेर घर फर्किने सम्झौता त गरियो । तर, घर फर्किनलाई गाडीभाडा छैन्,’ हिक्मतले भने, ‘घर छोडेर आएको पनि करिब महिना दिन पुग्न लाग्यो । घर गएर पनि के खाने भन्ने अर्को समस्या छ ।’खेती गर्न स्थायी लालपूर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका थिए ।
धर्ना बसेका वादी समुदाय र प्रदेश सरकारबीच फागुन २६ गते वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गरिदिने, १० लाखसम्मको निर्व्याजी ऋणको व्यवस्था गर्ने, वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र तथ्यपरक प्रतिवेदन पेस गर्ने, प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्नेलगायतका पाँच बुदे सहमति भएको थियो ।सम्झौताअनुसार सोही दिन नै घर फर्किने सहमति भए पनि आर्थिक अभावले जान नसकिएको हिक्मत वादीको भनाइ छ ।हिक्मतका अनुसार घर नजिक भएका झण्डै १५० जना व्यक्तिहरु आफ्नै खर्चमा घर फर्किए पनि अझै ३०० जना खुला चौरमा रहेका छन् ।व्यवस्थित बसोबासको माग गर्दै सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटका ४५० बढी वादी समुदायका व्यक्तिहरू सुर्खेत आएका थिए । उनीहरू आन्दोलन स्थगित गर्ने सम्झौतापछि पनि मुख्यमन्त्री कार्यालयअगाडि पाल हालेर धर्ना बसेका छन् ।