काठमाडौँ ,बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागर थी भट्टका अभियुक्त दीनेश भट्टले बयान फेरेका छन् ।अदालतको आदेशपछि सुधार केन्द्रमा रहेका १६ वर्षीय दिनेशले आफूलाई जर्बजस्ती घटनाको कबोल गर्न लगाएको आफ्ना बाबुसमक्ष बताएका छन् ।उनका बाबु दीपक भट्टले भागरथीलाई आफूलाई नमारेको भन्दै प्रहरीले घाँटीमा चक्कु राखेर घटना स्वीकार गर्न लगाएको बताएका छन् । दिनेशका बाबु शनिबार उनलाई भेट्न सुधार गृहमा पुगेका थिए ।
उनका बाबुले दोगडाकेदार गाउँपालिकाका एक प्राविधिक कर्मचारीको घटनामा संलग्नता रहेको बताएका छन् ।‘मैले हत्या गरेको होइन । हत्या गर्ने एकजना गाउँपालिकाकै कर्मचारी हुन् । कार्की थरका हुन् । अर्को एकजनालाई मैले चिनिनँ’, दिनेशको भनाई उदृत गर्दै उनले भने ।यता प्रहरीले भने घटनामा ट्वीस्ट ल्याउन खोजिएको बताएको छ । सुदुरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले तथ्य र प्रमाणले दिनेशको संलग्नता पुष्टि भइसकेको बताए ।
‘बालसुधारगृह कोठीमा पुर्पक्षका लागि पठाइएको छ । अहिलो बयान परिवर्तनको कुनै कुरा छैन् । सबै तथ्यले उसैलाई देखाएको छ । हामीले उसको बुवाले के बोल्यो भन्दा पनि तथ्यले के बोल्यो भन्ेन हेर्छौं । तथ्यले त्यही बोलेको छ । हिरासतमा भएको मदन भट्ट भन्ने भाईले पनि त्यही बोलेको छ’, उनले भने, ‘त्यो सरासर झुट कुरा हो । कसैले पनि घाँटीमा तरबार राख्ने काम गरेको छैन् । त्यहाँ तथ्य आफैं बोल्छ । तथ्यका लागि कुनै मान्छेले बोल्न पर्दैन । भागरथीले लगाएको घडी यहाँ छ भन्ने कुरा अरुलाई थाहा थिएन । उसैलाई थाहा थियो । अन्य प्रमाणहरु पनि छन् । उनीहरुले घटनाबारे ट्वीस्ट गर्ने दुश्प्रयास गरेको हुनसक्छ । प्रमाण र तथ्यहरुले अकाट्य रुपमा उनकै संलग्नता देखाएको छ ।’
एसएसपी सिंहले सबैमा बोल्ने स्वतन्त्रता भएकाले प्रहरीले बोल्नमा बन्देज लगाउन नसक्ने भन्दै यस विषयमा थप जानकारी लिने बताए ।‘यसलाई अनुसन्धानमा रहने निकायले कुन लेभलसम्म लिन्छ भन्ने कुरा हो । अनुसन्धानको पाटोमा हामी क्लियर छौं । उनले किन बोले भन्ने विषयमा हामी बुझ्छौं’, उनले भने ।घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।
प्रहरी प्रधान कार्यालयले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा गरेको थियो ।भागरथी हत्याको अनुसन्धानमा खटेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका असई पदमबहादुर थापा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापालाई एक पद बढुवा गरेको हो ।त्यस्तै प्रहरी प्रधान कार्यालयले सोही घटनाका अपराधी पक्रन सफल भएको भन्दै डीआइजी सुवेदीलगायत पाँच जनालाई नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धानपछि ती किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५–५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । ती किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।सनातन धर्म माविमा कक्षा ११ पढ्ने ती किशोर र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन्।