काठमाडाैँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमा देखिएको व्यक्तिवादी प्रवृत्तिले अहिले समस्या भएको बताएका छन्। आफू पक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।’केपी ओलीको प्रवृत्ति छुट्टै छ। व्यक्तिवादी छ, हाम्रो सामूहिकतावादी प्रवृत्ति छ। आफूलाई केन्द्रमा राख्ने प्रवृत्ति केपी ओलीमा छ। हामी संगठनलाई केन्द्रमा राख्छौँ’, उनले भने, ’केपी ओली र हाम्रोबीचको विवाद के हो? स्वार्थको कुरा त होइन। कतिपयले प्रचार गरेको हुन सक्छ। ती कुनै कुराको भ्रममा नपर्नु।’
नेपालले केपी ओलीसँग कुनै हालतमा नझुक्ने पनि बताए। ’हामी आज यो अवस्थामा आइपुगेका छौँ। कमरेड केपी ओलीसँग मिल्नुपर्यो भने जे जे पर्छ सहेर पार्टीबाट निकाले पनि बसिदिनुस् भनिरहेका छन्’, उनले भने, ’के घुँडा टेक्ने र आत्मसमर्पणको बाटोमा जाने हो? कि केपी ओलीको टाङमुनि जाने हो। केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौँ, डराएका छैनौँ।’उनले आफू कहिले अलमलमा नपरेको पनि बताए। ’माधव नेपाल अलमल र द्विविधामा पर्दैन, चुनौतीको सामना गर्दै अगाडि बढ्छ। कस्ता कस्ता कहाँ हराए, केपी ओली मेरो सामुन्ने!’, उनले भने, ’केपी ओलीसँग डराउने कुरा छैन। केपी ओलीको दुई दिनको चुरी फुरी प्रधानमन्त्रीको कुर्सीबाट उत्रिनेबित्तिकै सकिन्छ, उनको हावा खुस्किन्छ।’
उनले आफूले राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग पनि डिल गरेको बताउँदै आफूलाई कुनै तनाव नभएको उल्लेख गरे। ’स्पष्टीकरणपछि कमरेड मलाई रातभरि निद्रा लागेन भनेर एकजना साथी आउनु भएछ। मत रातभरि आनन्दले सुतेँ’, उनले भने, ’आइरहन्छन् चुनौती जसरी नदी बगिरहन्छ बाधा पन्छाएर, त्यसैगरी हामी अघि बढिरहन्छौ।’उनले आफ्नो अनुहार अँध्यारो भए पनि ओलीको स्पष्टीकरणबाट नडराएको बताए। ’कमरेड स्टेजमा बस्दा अनुहार उज्यालो बनाउनुस् भन्दै थिए। हामी केपी ओलीको स्पष्टीकरणबाट तर्सेका छैनौँ, मैदान छाडेका छैनौँ’, उनले भने, ’पार्टी फुटाउने केपी ओलीले हो, हामीले होइन। पार्टीलाई एकतावद्ध बनाउन हामीले राष्ट्रिय कार्यकर्ता भेला गरेका हौँ।’