काठमाडाैँ ,माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वाेच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो ।मंगलबार कानुन व्यवसायीहरूसँग छलफलपछि माओवादी केन्द्रले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए । छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।
नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र २ जेठ ०७५ भन्दा पहिलेको अवस्थामा फर्किएका छन् । तर, फैसला आउनुअघि नै अन्तर्संघर्षका कारण फरक गतिविधि गरिरहेको एमालेभित्रको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने अहिले पनि समानान्तर कार्यक्रम गरिरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले समानान्तर गतिविधि गरेको भन्दै सोमबार खनाल–नेपाल समूहका चारजना नेतालाई स्पष्टीकरणपत्र पठाएका छन् । यही समयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भने फैसला पुनरावलोकनमा जाने निर्णय गरेको छ ।अाजकाे नयाँ पत्रिकामा खबर छ ।