काठमाडौं, नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको दुराशयबाट नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको ठहर गरेको छ । उक्त समूहले आज संयुक्त वक्तव्य जारी गर्दै कारबाहीले पार्टीमा छलफल र बहसको ढोका बन्द भएको निष्कर्ष निकालेको हो ।
ओलीले सोमबार नेपाल र रावललाई ६ महिना पार्टीबाट निलम्बन गरेका थिए । “यही चैत १६ गते वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र उपाध्यक्ष कमरेड भीम रावललाई विभिन्न झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य भएको छ । यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा (एमाले)लाई विभाजन गर्दै छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,” वक्तव्यमा भनिएको छ ।
नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुरायशले स्पष्टीकरण सोधिएको पनि वक्तव्यमा उल्लेख छ ।खनाल–नेपाल समूहले सत्ता, शक्ति र स्रोतको उन्मादका कारण ओलीले झुटा आरोप लगाउँदै स्पष्टीकरण सोधेको ठहर गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले रावल र नेपालललाई कारबाही गरेका थिए ।