काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत नबने फेरि लकडाउन हुन सक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताउदै ओलीले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न आग्रह गरे ।
नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत रहेको भन्दै उनले सावधानी नअपनाए समस्या आउन सक्ने बताए । उनले भने – ’सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।’उनले आफुलाई सरकार ढल्छ भन्ने चिन्ता नभएको पनि बताए । सरकार जान्छ कि भन्ने आफुलाई चिन्ता नभएको बताउदै उनले आफूलाई हटाउनेहरू पनि फ्याँकिने बताए ।
उनले भने – ’मलाई सरकार जान्छ कि भन्ने चिन्ता छैन। अहिले नै हटाइहाले भने पनि केही छैन। यस्तो अंकगणितलाईलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिनेछन्’उनले उद्योगीहरूलाई राजनीतिको विषयमा चिन्ता नगर्न र आफ्नो काममा मात्र ध्यान दिन भने ।