काठमाडाैँ,झापाको दमक नगरपालिका–७ का चन्द्रबहादुर नेपाल दमककै पुराना चिया व्यवसायी हुन् । सानो घुम्तिमा सञ्चालन गरिएको चिया पसलको आम्दानीबाट उनले परिवारको गर्जो टार्दै थिए । तर, शुक्रबारदेखि भने उनको चिया पसल मात्र होइन, सिंगो घरबार नै उठिबास लाग्यो ।
यो वडाका १२ परिवार पुराना सुकुम्वासीको हबिगत पनि नेपालको जस्तै भएको छ । उनीहरु यतिबेला व्यवसायवाट विस्थापित मात्रै हैन, बेघर भएका छन् । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा ७ तले सपिङ कम्प्लेक्स बन्दैछ । यसको डीपीआर समेत भइसकेको छ । सपिङ कम्प्लेक्स बनाउने भन्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको निर्देशनमा सुकुम्बासीका घरमा डोजर चलाइएको थियो । ४० करोडको लागतमा सपिङ कम्प्लेक्स बन्दै गर्दा ४ दशकदेखि करिब १० कठ्ठा जमीनमा बस्दै आएका हाटखोलाका १२ र करिव ४ कठ्ठामा बस्दै आएका पञ्चमुखी टोलका ८ घर सुकुम्बासी घरबारबिहीन बनेका हुन् ।
अधिकांश सुकुम्बासीले घरमै व्यवसाय गरेर गुजारा गर्थे । घर भत्किएपछि उनीहरुको जिविकोपार्जनमा समेत समस्या भएको छ । उनीहरु खाजा घर, किराना पसललगातका व्यवसाय सञ्चालन गरेर बसेका थिए । घर र व्यवसाय दुवै गुमेपछि यतिबेला कसरी जिविकोपार्जन गर्ने भन्ने पिरले उनीहरुलाई थप पिरोलेको छ । सुकुम्वासी पुकार लामाले घरबार गुमेपछि जिविका चलाएर परिवार पाल्न समस्या पैदा भएको दुखेसो पोखे । उनी विलौना गर्छन्,“अब कसरी परिवार पाल्ने होला भन्ने समस्याले निद्रा पनि लाग्न छाडेको छ ।”
हाटखोलाकै रैथाने लामा वर्षौदेखि सोही ठाउँमा व्यापार गर्दै आएका थिए । उनले नगरपालिकाले बनाउन लागेको सपिङ कम्प्लेक्समा आफूहरुलाई समेत व्यापार गर्ने प्रबन्ध मिलाइदिन स्थानीय सरकारसँग माग गरेका छन् । “हामीलाई बिना सूचना यहाँबाट हटाइएको छ,” लामाले भने, “४÷५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो, हाम्रो केही लागेन, अब हामीलाई यही कम्प्लेक्समा व्यापार गर्ने वातावरण मिलाइदिनु पर्छ ।”
बेघर वनाइएका केही सुकुम्बासी नगरपालिकाले रतुवा खोलाको बगरमा विपन्नका लागि बनाएको बस्तीमा बस्न थालेका थालेका छन् । कोही आफन्तको साहारामा त कोही खुला आकासमुनी छन् । सुकुम्बासी टिकामाया नेपाल घर भत्काउने अघिल्लै दिन कुम्लु कुटुरो बोकेर नयाँ बस्ती पुगेका थिइन् । विपन्नका लागि बसाएको यो बस्तीमा वर्खामा बस्नै नसकिने स्थानीयवासीहरु बताउँछन् । “सधैं बाढी पस्छ भन्ने सुनिएको छ । अब कसरी बस्ने हो थाहा छैन”, टिकामाया भन्छिन् ।
कतिपय विस्थापित घर भत्काइएको क्षेत्रमै खुला आकासमुनी छन् । शुक्रबार राति पनि उनीहरुले खुला आकासमै रात गुजारेका छन् । “कुनै सूचना नै नदिइ घर भत्काइएको छ”, उठीबास लागेपछि बिचल्लीमा परेकी पीडित धनकुमारी बिकले भनिन्,“हामीलाई प्रहरी कार्यालयमा बोलाइयो, हामी गएपछि यता घर भत्काउन थालिएछ ।” सुकुम्वासीहरुलाई घर खाली गर्न नगरपालिकाले यसअघि पनि पटक पटक चेतावनी दिँदै आएको थियो । तर, सुकुम्बासीहरुले वैकल्पिक व्यवस्था नभएसम्म घर नछाड्ने अड्डी गर्दै आएका थिए ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले घर भत्काइएकाहरु सक्कली नभएर नक्कली सुकुम्बासी रहेको बताउँदै भने, “उनीहरुको अन्यत्र पनि जमीन छ । अहिले नयाँ बस्तीमा आश्रय दिइएकाहरुलाई पनि सामान थन्काउन मात्रै दिइएको हो । अन्यत्र जग्गा भएको पुष्टी भएपछि हामी त्यहाँबाट पनि हटाउँछौ ।” उनले सपिङ कम्प्लेक्स बनिसकेपछि व्यवसाय गर्न उनीहरुलाई नै पहिलो प्राथमिकता दिइने जनाए ।