नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले वर्तमान संकटको वेला कांग्रेस नेतृत्व दोबाटोमा उभिन नहुने बताएकी छिन् । सोमबार नेपाल प्रेस युनियनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।आमनिर्वाचनको वेला आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जितेमा हाँस्न–रुन नै नपाइने बताउँदा खिसिट्युरी गरिएको स्मरण गर्दै उनले अहिले देशको अवस्था त्यस्तै रहेको टिप्पणी गरिन् । ‘हिजो हाम्रो सभापतिले हाँस्न–रुन पाइन्न भन्दा त्यसलाई उडाउने काम भयो । आज अवस्था त्यस्तै छ । सभापति देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्थे । अब ५० वर्ष कांग्रेस खोजेर भेटिन्न भन्थे । अहिले सबैले कांग्रेसको भूमिका खोजेका छन् । यस्तो वेला हाम्रो नेतृत्व दोबाटोमा बस्न हुँदैन,’ उनले भनिन् ।
सत्तारुढ दल नेकपा एमालेले लोकतन्त्र र संसदीय मूल्य–मान्यतालाई भत्काउने कार्य गरेको उनले आरोप लगाइन् । ‘प्रधानमन्त्री केपी ओलीले आफैँले भंग गरेको संसद् पुनर्स्थापित भएपछि थोरै पनि नैतिकता भएको भए राजीनामा दिनुपर्ने थियो’ भन्दै उनले अब उनलाई नैतिकताको पाठ सिकाउने वेला आएको बताइन् ।प्रधानमन्त्री ओलीले समृद्धि र राष्ट्रवादको खोक्रो नारा दिएर जनतालाई भ्रमित पारेको भए पनि बिस्तारै त्यो उदांगिँदै गएको उनको टिप्पणी छ । ‘समृद्धि र राष्ट्रवादका ठुल्ठूला गफ दिने प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारतीय गुप्तचर प्रमुखले मध्यरातमा भेटेर के–के गरेको कुराले उदांगो भएको छ । उनको राष्ट्रवादलाई अब नेपाली नागरिकले चिनिसकेका छन्,’ उनले भनिन् ।
गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आउने भएपछि मध्यरातमा चालू रहेको संसद् अधिवेशन अन्त्य गरिएको भन्दै यसले एमाले कति लोकतान्त्रिक छ भन्ने प्रस्ट्याएको बताइन् । कर्णाली प्रदेशबाट विपक्षी दलहरूको सहकार्यको यात्रा अगाडि बढेको टिप्पणी गरेकी उनले अब गण्डकी प्रदेशलगायत अन्य प्रदेशमा पनि सहकार्यले निरन्तरता पाउने धारणा राखिन् । ‘कर्णाली प्रदेशबाट दलहरूका बीचमा सहकार्यको थालनी भएको छ । अब गण्डकी प्रदेश हुँदै केन्द्र र अन्य प्रदेशमा पनि यो सहकार्यले निरन्तरता पाउँछ,’ उनले बताइन् ।नेतृ संग्रौलाले वर्तमान सरकारले हत्या–हिंसा रोक्न नसकेको, महिला हिंसालाई नियन्त्रण गर्न नसकेको र पीडितले न्याय नपाउने अनि पीडकहरू खुला रूपले हिँड्दा त्रास बढाउने काम गरेको उनको भनाइ थियो ।